– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको आज बुधबार धितोपत्र दोस्रो बजारमा उच्च कारोबार भएको छ। 

आज यो कम्पनी एक्लैको १ अर्ब ३७ करोड ८७ लाख ९० हजार ६२२ रुपैयाँको कारोबार भएको छ। त्यसमा पनि यो कम्पनीको एउटै ब्रोकरबाट २० करोड रुपैयाँभन्दा बढी कारोबार भएपछि सेयर बजारमा शंकाको दृष्टिले हेरिएको छ।

बजारमा यो कम्पनीले २० प्रतिशतसम्म बोनस सेयर र ५० प्रतिशतसम्म हकप्रद जारी गर्ने भनेर हल्ला चलाइएको छ। सोही कारण लगानीकर्ता यो कम्पनीको सेयरमा झुम्मिएको एक बजार जानकार बताउँछन् । ‘बजारका केही खेलाडीहरुले हकप्रद र बोनस सेयरको हल्ला चलाएर यो कम्पनीको सेयर सोझासाझा लगानीकर्तालाई भिडाउने काम गरेका छन्’, उनले भने, ‘बेलैमा सचेत नहुने हो भने धेरै लगानीकर्ताको लगानी डुब्ने सम्भावना बढेर गएको छ।’

कम्पनीले स्थापना भएको ५ वर्षसम्म नाफाको रकम अनिवार्य जगेडा कोषमा राख्नुपर्ने हुन्छ। यस हिसाबले कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट कुनै लाभांश बाँड्न नसक्ने यसअघि नै घोषणा गरिसकेको छ । 

आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले वित्तीय अवस्था हेरेर र सञ्चालक समितिको निर्णयअनुसार लाभांश बाँड्ने वा नबाँड्ने तय हुने कम्पनीले प्रस्ट पारिसकेको छ। यदि लाभांशसम्बन्धी प्रस्ताव सञ्चालक समितिबाट पास भयो भने पनि नियामक बीमा समिति तथा नेपाल धितोपत्र बोर्डबाट अहिले नै कम्पनीको वित्तीय अवस्थाले बजारमा चर्चा चलेजस्तो हकप्रद तथा बोनस दिन नसक्ने एक लगानीकर्ता दिनेश थपलियाले बताउँछन् । 

थपलियाले अहिले बजारमा आएको हकप्रद तथा बोनसको हल्लामा कुनै सत्यता हुन नसक्ने दाबी पनि गरे। 

बढ्दो बजारमा यस्ता कम्पनीमा आम सर्वसाधारण सजक हुन नियामक निकायले पटकपटक आग्रह पनि गरेको छ ।

लगानीकर्ताले शंका गरेजस्तो कम्पनीका संचालकहरुले पनि हालसम्म बोनस वा हकप्रद सेयर जारी गर्ने विषयमा कुनै पनि बैठकमा अजेण्डा नै नआएको बताएका छन् । बीमा कम्पनीबाट पुनर्बिमाको संचालकको रुपमा प्रतिनिधित्व गर्ने ती अधिकारीले भने-'यो विषय संचालक समितिमा अहिलेसम्म आएको छैन । आउँदा पनि आउँदैन । कारण कम्पनीले तत्काल न बोनस सेयर, न हकप्रद नै जारी गर्नसक्ने अवस्था छ ।' 

ती संचालकले खेलाडीहरुले पहिलाजस्तै बजारमा फेरि गलत हल्ला चलाएका मात्र हुनसक्ने पनि प्रष्ट पारे ।