– अर्जुन तिमिल्सिना

काठमाण्डौ। अर्थमन्त्री विष्णु पौडेलको पुँजी बजारप्रतिको पछिल्लो अभिव्यक्तिलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ। 

नेपाल धितोपत्र बोर्डको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले उत्साहजनक बन्दै गएको पुँजी बजारमा नकारात्मक प्रभाव पर्ने कुनै पनि काम नगर्न र त्यस्ता गतिविधिसमेत हुन नदिन नियामक निकायहरुलाई निर्देशन दिएका थिए। बजारमा कुने पनि प्रकारका अनियमितता वा गडबडी नहोस् भनेर धितोपत्र बोर्ड चनाखो हुनुपर्ने पनि उनको सुझाव थियो। ‘पुँजी बजारप्रतिको आकर्षणलाई हामीले लगानीकर्ताले वर्तमान सरकारप्रति गरेको विश्वासका रुपमा बुझेका छौँ’, उनले भनेका थिए, ‘यसलाई कमजोर पार्ने काम नहोस्।’

अर्थमन्त्री पौडेलका यी निर्देशनले बढ्दो बजारलाई थप स्थायित्व प्रदान गर्न टेवा पुग्ने बजार जानकारहरुको विश्वास छ। यी निर्देशनलाई धितोपत्र बोर्डलाई मात्रै नभएर समग्र नियामक निकाय र नेपाल राष्ट्र बैंकसम्मलाई भएको हुन सक्ने उनीहरुको बुझाइ छ। 

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार ‘मर्निङ शोज द डे’ भनेजस्तै अर्थमन्त्री पौडेलको निर्देशनले आउन लागेको मौद्रिक नीतिलाई लक्षित गर्दै अर्थ मन्त्रालयको राष्ट्र बैंकका लागि गाइड लाइन हुन सक्ने बताए। ‘समग्रमा सेयर बजारमा अर्थमन्त्रीको निर्देशनले सकारात्मक प्रभाव पार्नेछ भन्ने मलाई विश्वास छ’, उनी भन्छन्। 

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि अर्थमन्त्री पोडेलको निर्देशन सकारात्मक रहेको बताउँछिन्। ‘बढ्दो बजारमा अर्थमन्त्रीको निर्देशन निकै अर्थपूर्ण देखिन्छ’, उनी भन्छिन्, ‘बजारमा पम्पिङ एन्ड डम्पिङ हुन्छ, त्यसैले त्यस्ता अनियमितता रोक्न अर्थमन्त्रीबाट यस्तो निर्देशन आएको हुन सक्छ।’

बजार जानकार वीरेन्द्र बिष्टले अर्थमन्त्री पौडेलको पछिल्लो निर्देशन धितोपत्र बोर्डलाई मात्रै नभएर बजारका अन्य नियामक निकाय तथा राष्ट्र बैंकलाई पनि मार्गनिर्देश हुन सक्ने बताए। ‘अर्थमन्त्रीको निर्देशनले आउँदो मौद्रिक नीतिमा सेयर बजारमा असर पर्ने कुनै पनि कार्य नगर्न राष्ट्र बैंकलाई भनेको संकेत पनि मिलेको छ’, उनले भने, ‘राष्ट्र बैंकले पहिला पनि सेयर बजारमा केही नियन्त्रण गर्न खेजेको थियो तर अर्थमन्त्रीले नमानेकै कारण रोकिएको थियो।’

अर्का बजार जानकार प्रेम ओली बजारलाई सन्तुलनमा राख्न अर्थमन्त्री पौडेलले नियामकलाई त्यस्तो निर्देशन दिएको हुन सक्ने बताउँछन्। ‘अर्थमन्त्रीको निर्देशनलाई सकारात्मक रुपमै लिनुपर्छ’, उनले भने। 

बजार जानकार निमानन्द कँडेल भने अर्थमन्त्रीको निर्देशनले दुईवटा अर्थ राख्ने बताउँछन्। ‘पहिलो- बजारमा अनियमिता हुन नदिनु भन्नुको अर्थ केही अस्वभाविक कम्पनीको वृद्धिलाई नियन्त्रण गर्न भनिएको हुन सक्छ। किनकि सेयर बजारका राम्रा तथा नराम्रा सबै कार्यको जश र अपजश अर्थमन्त्री पनि हुने हुनाले सजग गराएका पनि हुन सक्छन्’, उनले भने, ‘दोस्रो- अहिले बजारलाई नचालाएर स्वतन्त्र रुपमा छोड्न खोजेका पनि हुन सक्छन् किनकि यो सरकारको चुनावी रणनीति पनि हुन सक्छ।’

सेयर बजारमा मार्जिन लेन्डिङको विषयले चर्चा पाइरहेकोले त्यसलाई नचलाउन अर्थमन्त्रीको सन्देश हुन सक्ने कँडेलको भनाइ छ।