काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको साताको पहिलो दिन आइतबार बजारमा पुनः नयाँ–नयाँ कीर्तिमान बनेको छ।

आज बजारमा नेप्से परिसूचकसँगै कारोबार रकमले नयाँ कीर्तिमान कायम गरेको हो। यो दिन नेप्से ३८.३२ अंकले बढेर २९८३.११ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। यसअघि गत जेठ २५ गते नेप्सेले चुमेको हालसम्मकै उच्च २९६०.१४ को रेकर्ड आज ब्रेक भएको छ।

यसैगरी आज कारोबार रकमले पनि नयाँ कीर्तिमान बनाएको छ। आज एकैदिन १९ अर्ब ५५ करोड रुपैयाँ बढीको कारोबार भएको छ। यसअघि गत जेठ २३ गते बजारमा सर्वाधिक १७ अर्ब २७ करोड रुपैयाँ बढीको कारोबार भएको थियो। 

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार आज कारोबार रकमसँगै नेप्से परिसूचकले नयाँ कीर्तिमान कायम गरेकोले बजार अझै माथि जाने सम्भावना देखिएको बताउँछन्। ‘लगानीकर्ताको मनोबल उच्च बन्दै गएको छ, बजार पनि चारैतिरबाट सकारात्मक देखिएको छ’, उनले भने।

एकल अंकमा ब्याजदर हुनु, ब्याजदर अझै ६–७ महिना बढ्ने सम्भावना नहुनु, कोरोनाका कारण अन्य क्षेत्रका सानाठूला सबै खाले लगानीकर्ता सेयर बजारमा भित्रिनु र विदेशमा बसेका नेपालीहरु पनि सक्रिय रुपमा सेयर बजारमा कारोबार गरिरहनुले बजार गति लिएको रौनियारको ठम्याइ छ। ‘बजारमा लगानीकर्ताको संख्या ह्वात्तै बढेको छ’, उनले भने, ‘यो बजारका लागि सकारात्मक पक्ष हो।’
अब बैंकका सेयरहरु बढ्न थालेपछि बजारमा झनै उछाल आउने रौनियार बताउँछन् । बढ्दो बजारमा जोखिम पनि बढी हुने भएकोले सोचविचार गरेर र कम्पनीका विषयमा अध्ययन तथा अनुसन्धान गरेरमात्र लगानी गर्न उनले सुझाव दिए।

सक्रिय लगानीकर्ता केशव कोइराला अन्य क्षेत्रमा तत्काल लगानीको वातावरण नबनेका कारण सेयर बजारमा चमक आएको बताउँछन्। ‘बैंकिङ प्रणालीमा तरलता पनि बढ्दै गएको छ, यो कारणले पनि सेयर बजारमा लगानी भित्रिने बढी सम्भावना छ’, उनले भने, ‘कारोबार रकमले बजारलाई बलियो साथ दिएको छ, बजार अझै माथि जाने सम्भावना छ।’

बढ्दो बजारमा केही वित्तीय कमजोर भएका कम्पनीहरुको सेयरभाउ अस्वभाविक रुपले उचालिएको भन्दै उनले बेलाबेलामा नियामकबाट आएका त्यस्ता अस्वभाविक गतिविधि नियन्त्रण गर्न आएका नियम र निर्देशनले पनि लगानीकर्ताहरुको मनोबल उच्च पारेको बताए। ‘नियामकका पछिल्ला कदमहरु सकारात्मक नै छन्, यस्तो बेला आमलगानीकर्ताको लगानी सुरक्षित गर्नु नियामकको कर्तव्य नै हो’, उनले भने।

निषेधाज्ञा जारी रहेसम्म सेयर बजारमा चमक आइरहने कोइरालाको भनाइ छ। ‘बरु बुझेरमात्र लगानी गर्नुपर्छ’, उनले सुझाव दिए।

आज नेप्से उपसमूहमा रहेका १३ समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक ८.२४ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ७.१४ प्रतिशतले बढेको आज जलविद्युत समूहमा ६.१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ४.७३ प्रतिशत, लगानी समूहमा २.३८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.९८ प्रतिशत र बैंकिङ समूहमा ०.४२ प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक १.०६ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह ०.७९ प्रतिशतले घटेको आज निर्जीवन बीमा समूहमा ०.१५ प्रतिशत, अन्य समूहमा ०.३८ प्रतिशत, लघुवित्त समूहमा ०.३८ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०११ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२० कम्पनीका ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँमा किनबेच भएको छ।

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ७२ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। लुम्बिनी विकास बैंकको ५८ करोड ३९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेसनल हाइड्रोपावरको ५४ करोड ४० लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ५३ करोड ७५ लाख रुपैयाँ, ज्योति विकास बैंकको ४४ करोड ९३ लाख रुपैयाँ, अरुण काबेली पावरको ४० करोड ६० लाख रुपैयाँ, रसुवागढी हाइड्रोपावरको ३६ करोड ६२ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको ३४ करोड ४३ लाख रुपैयाँ, गरिमा विकास बैंकको ३४ करोड ३३ लाख रुपैयाँ र अपी पावरको ३३ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ३८ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। 

सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेका कम्पनीहरु

  • श्री इन्भेस्टमे फाइनान्स
  • समृद्धि फाइनान्स
  • आईसीएफसी फाइनान्स
  • कर्णाली डेभलपमेन्ट बैंक
  • सिन्धु विकास बैंक

सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजेटिभ सर्किट लागेका कम्पनीहरु

  • रिलायन्स फाइनान्स
  • मितेरी डेभलपमेन्ट बैंक
  • हिमालयन पावर पार्टनर
  • पञ्चकन्या माई हाइड्रोपावर
  • घलेम्दी हाइड्रो
  • सीईडीबी हाइड्रोपावर
  • नेसनल हाइड्रोपावर
  • लुम्बिनी विकास बैंक
  • माउन्टेन इनर्जी
  • जोशी हाइड्रोपावर
  • शिवश्री हाइड्रोपावर
  • ओरियन्टल होटेल
  • सोल्टी होटेल
  • प्रोग्रेसिभ फाइनान्स
  • गुहेश्वरी मर्चेन्ट बैंक
  • जानकी फाइनान्स
  • एचआईडीसीएल
  • ङादी ग्रुप पावर
  • सेन्ट्रल फाइनान्स
  • नेपाल फाइनान्स
  • पाँचथर पावर कम्पनी
  • आँखुखोला जविद्युत
  • छ्याङ्दी हाइड्रोपावर
  • बेस्ट फाइनान्स
  • युनियन हाइड्रोपावर
  • दिव्यश्वरी हाइड्रोपावर
  • राइराङ हाइड्रोपावर
  • लिबर्टी इनर्जी
  • तारागाउँ रिजेन्सी होटेल
  • मल्टीपर्पस फिनान्स कम्पनी
  • हिमाल दोलखा हाइड्रोपावर
  • ज्योति विकास बैंक
  • कामना सेवा विकास बैंक

यसैगरी आज पोखरा फाइनान्स, रसुवागढी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, अरुण भ्याली हाइड्रोपावर र नेपाल हाइड्रा डेभलपर्सको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

आज नेपाल इन्स्योरेन्सका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ।