काठमाण्डौ । नेपाललाई कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्नका लागि युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ। ती उपकरण तथा सामग्री आज शुक्रबार बिहानै नेपाल आइपुगेको छ। 

इटालीले उपलब्ध गराएका राहत उपकरणमा २० भेन्टिलेटर, ६ हजार आइसोलेशन गाउन र १० हजार प्रोटेक्टिभ कवरल्स् समावेश छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इटालीका लागि मानार्थ कन्सुल प्रतिमा पाण्डे र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई ती सामग्री हस्तान्तरण गरेकाछन्। टिम युरोप मर्मलाई आत्मसाथ गर्दै जर्मनी र फ्रान्सका राजदूतहरू पनि उक्त समारोहमा उपस्थित भएका थिए। 

“लामो समयदेखिको मित्र र साझेदारका रुपमा युरोपियन युनियन र यसका सदस्य राष्ट्रहरुले यस कठिन समयमा नेपलालाई यस्तो सहयोग प्रदान गरिरहेका छन्। यी  स्वास्थ्य सामग्रीले कोभिड फैलिनबाट रोक्न सहयोग पुर्याउनेछ’, राजदूत नोना डेप्रेले भनिन्, ‘यी सामग्री तथा जनस्वास्थ्यका उपायहरुले नेपालीहरुको अमूल्य जीवन बचाउँन मद्दत पुर्याउने छ।’

अन्य दाताहरुको सहकार्यमा युरोपियन युनियनले सामग्रीहरुको वितरण तथा प्रयोगलाई अनुगमन गर्नेछ। 

नेपालमा भित्रिएका सामग्रीको परिमाण र काठमाण्डौको सिनामंगलस्थित मानवीय स्टेजिङ क्षेत्रबाट बाहिर पठाइएको सामग्रीको विवरण स्वास्थ्य मन्त्रालयको इलजिस्टिक्स् म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (इलिमिस्) मार्फत अभिलेख गरिएको छ।

नेपाल सरकारको सहायताको अपिललाई मध्यनजर गर्दै स्वास्थ्य उपकरण तथा सामग्रीहरु पठाउने युरोपियन युनियनका १२ सदस्य राष्ट्रमध्येको इटाली एक हो । अन्य राष्ट्रहरुमा स्पेन, फिनल्यान्ड, फ्रान्स्, बेल्जियम, जर्मनी, स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्ड छन्। लिथुवेनिया र जर्मनीबाट अरु थप सहयोग आउने अपेक्षा गरिएको छ। 

नेपालका लागि इटालीका राजदूत भिन्सेन्जो डि लुकाका अनुसार यस चुनौतीपूर्ण समयमा इटाली कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेको छ। ‘यसलाई  गत २१ मेमा रोममा युरोपियन कमिशनसँगको सह–आयोजनामा आयोजित विश्वव्यापी स्वास्थ्य सम्मेलनले पनि पुष्टि गरेको छ। युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रको ढाँचामार्फत नेपालका लागि प्रदान गरिएको यस राहत उडान नेपाली मित्रहरुप्रति इटालीको सहयोग र ऐक्यबद्धताको द्योतक हो’, लुकाले भने, ‘पुनः एकपटक इटालीको ब्रिन्डिसीमा अवस्थित संयुक्त राष्ट्रसंघको मानवीय प्रतिकार्य डिपो (यूएनएचआरडी) विश्वको कुनै पनि ठाउँमा हवाई उडानमार्फत मानवीय सहायता पठाउनका लागि महत्वपूर्ण सावित भएको छ।’