काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ का केही बुँदामा संशोधन गरेको छ।

नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा नेप्सेले केही बुँदा संशोधन गर्दै धितोपत्र कारोबार सञ्चालन (दोस्रो संशोधन) विनियमावली, २०७८ लागू गरेको छ। यो संशोधित विनियमावली साउन ३ गते (आइतबार) बाट लागू हुने नेप्सेले जनाएको छ।

नेप्सेले विनियमावलीको विनियम (१२) को उपविनियम (१) मा संशोधन गरेको छ। जसअनुसार अब प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको २ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नुपर्नेछ। यसअघिको मूल विनियमावलीको विनियम (१२) को उपविनियम (१) अनुसार प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको ५ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नुपर्ने भनी उल्लेख थियो। 

त्यस्तै नेप्सेले विनियम १३ को उपविनियम (१) मा संशोधन गरेको छ। संशोधित उपविनियमअनुसार अब धितोपत्र व्यवसायीले धितोपत्रको कारोबारका लागि विनियम १२ बमोजिम मूल्य परिवर्तन सीमा प्रविष्ट गर्दा न्यूनतम १० पैसा वा १० पैसाले भाग जाने मूल्यमा आदेश प्रविष्टी गर्नुपर्नेछ। यसअघिको मूल विनियमावलीको विनियम १३ को उपविनियम (१) मा मूल्य परिवर्तन सीमा प्रविष्ट गर्दा न्यूनतम १ रुपैयाँ वा १ रुपैयाँले भाग जाने पूर्ण अंकमा मूल्य प्रविष्टी गर्नुपर्ने भनिएको थियो।

यसैगरी नेप्सेले मूल विनियमावलीको विनियम १३ को उपविनियम (२) संशोधित विनियमावलीबाट हटाएको छ। मूल नियमावलीको विनियम १३ को उपविनियम (२) मा यसअघि जुनसुकै कुरा लेखिएको भए पनि ५० रुपैयाँभन्दा कम मूल्यमा धितोपत्रको कारोबार हुने भएमा १ रुपैयाँभन्दा कम हुने गरी पैसासमेत उल्लेख गरी मूल्य परिवर्तन गरी मूल्य प्रविष्ट गर्न सकिने भनी उल्लेख थियो।