काठमाण्डौ । देशका विभिन्न स्थानमा आजबाट दसैँतिहारलक्षित सहुलियत पसलहरु सञ्चालनमा आएका छन्।
ठूला चाडपर्वमा उपभोक्तालाई सस्तोमा सामान बिक्री गर्ने लक्ष्यसहित सरकारले सहुलियत पसल सञ्चालनमा ल्याएको हो। जसअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत देशका ८५ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछन्।
व्यापार कम्पनीले देशभरका ४३ स्थानमा, कर्पोरेसनले ३२ र राष्ट्रिय दुग्ध विकास संस्थानले १० स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएका हुन् । छठसम्म सञ्चालन हुने यी पसलमा दाल, चामल, चिनी, नुन, खानेतेल, घिउलगायतका वस्तु बिक्रीमा राखिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
सहुलियत पसलहरुमा प्रतिकिलो नुनमा २ रुपैयाँ, दालमा ५ रुपैयाँ, चिउरामा ५ रुपैयाँ, आटामा ५ रुपैयाँ, तेल (तोरी)मा ५ रुपैयाँ, तेल (सूर्यमुखी)मा ५ रुपैयाँ, सिमीमा १० रुपैयाँ, फापरमा १० रुपैयाँ, तेल (भटमास)मा र १० रुपैयाँ चिनीमा ५ रुपैयाँ र चामलमा ५ रुपैयाँ छुट पाइनेछ।
यसैगरी प्रतिकेजी खासी÷बोका (जिउँदो)मा १० रुपैयाँ छुट पाइने छ।
उपत्यकामा व्यापार कम्पनीले उपत्यकाका रामशाहपथ, टेकु, नख्खु, सूर्यविनायक, कलंकी, थापाथली, बनेपा र कोटेश्वर लगायतका स्थानमा सहुलियत पसल सञ्चालन गर्दै छ । यस्तै कर्पोरेसनले कालिमाटी (२), कोटेश्वर, सतुंगल, जावलाखेल र भक्तपुरलगायतका स्थानमा सहुलियत र घुम्ती पसल सञ्चालन गर्ने बताएको छ ।
यसबाहेक राष्ट्रिय दुग्ध विकास संस्थानले आफ्ना उत्पादन व्यापार कम्पनी र कर्पोरेसनमार्फत बिक्री गर्ने र आफ्नै कार्यालयमार्फत बिक्री गर्नेछ।
संस्थानले काठमाण्डौ उपत्यकामा तीन स्थान र उपत्यका बाहिरका ७ स्थानबाट आफ्ना उत्पादन बिक्री गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19