काठमाण्डौ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बाट सञ्चालित अन्तरबैंक भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस) को उपयोगिता वृद्घि भइरहेको अवस्थामा प्रणालीमार्पmत गरिने बैंकका ग्राहकको कारोबार, नेपाल सरकार, पुँजी बजार, अर्ध सरकारी संस्थाहरुलगायतका विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा रहेका सत्रहरुको समय तालिका वृद्धि गरिएको छ।

सोही व्यवस्थाअनुसार एनसीएचएल–आईपीएस प्रणालीमा बिहानको ९ः०० बजेदेखि दिनको ३:०० बजेसम्म (आइतबारदेखि बिहीबार सम्म नेपाली मुद्रा र सोमबारदेखि बिहीबारसम्म वैदेशिक मुद्रा) प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा (टी प्लस जिरो) नै फर्छ्यौट हुने व्यवस्था भोलि सोमबारबाट लागू हुने भएको छ। यसअघि बिहानको १० बजेदेखि दिनको १ बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छ्यौट हुने गरेको छ। 

उक्त समयसीमा वृद्धिपछि प्रणालीमा आएका कारोबारहरु अर्को दिनमा फर्छ्यौट हुने व्यवस्था यथावत् रहनेछ। त्यसैगरी दिनको ३ः३० बजेसम्म प्राप्त भएका बैंकको आफ्नो ट्रेजरी पेमेन्टसम्बन्धी भुक्तानी आदेशहरु सोही दिनमा फर्छ्यौट हुने छन्। शुक्रबारको दिन १२ः३० बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु पनि सोही दिनमा फर्छ्यौट हुने व्यवस्था मिलाइएको छ।

हाल नगद तथा कागजमा आधारित भुक्तानीहरुभन्दा डिजिटल भुक्तानीको लोकप्रियता बढेसँगै एनसीएचएल–आईपीएसमा वृद्धि भएको समयसीमाले ग्राहकलाई थप सुविधा हुने विश्वास गरिएको छ। एनसीएचएल–आईपीएसमार्फत तलबभत्ता, केन्द्रीय तथा स्थानीय सरकारी भुक्तानी, सप्लायर÷पार्टी पेमेन्टहरु, कस्टमर फन्ड ट्रान्सफर, डिभिडेन्डलगायतका विभिन्न भुक्तानीहरु नगद वा चेक बिना सिधै खाताबाटै रकमान्तर गर्न सकिन्छ। 

हाल यस प्रणालीमा ५९ बैंक तथा वित्तीय संस्थाहरु आबद्ध रहेका छन्। यस प्रणालीमार्फत प्रतिकारोबार रु. २० करोडसम्मको भुक्तानी गर्न सकिन्छ भने सरकारी भुक्तानी रु. ३० करोड सम्म, ट्रेजरी पेमेन्टसम्बन्धी भुक्तानी रु. ५० करोडसम्म र सरकारी भुक्तानी रु. २ अर्बसम्म गर्न सकिन्छ। 

हाल एनसीएचएल–आईपीएसमार्फत भुक्तानी कारोबारहरु बैंक तथा वित्तीय संस्थाको शाखा, कर्पोरेट तथा बिजनेस च्यानल, कर्पोरेटपे प्रणाली तथा नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) लगायतका च्यानलहरुमार्फत गर्न सकिन्छ। हाल एनसीएचएल–आईपीएसको कारोबार शुल्क रु. २ देखि रु. १० सम्म रहेको छ।    

एनसीएचएलले हाल एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, कनेक्ट आईपीएस, कनेक्ट आरटीजीएस, एनपीआई र कर्पोरेटपेलगायतका राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ। जसमा नेपाल राष्ट्र बैंकलगायत सबैजसो बैंक तथा वित्तीय संस्थाहरु आबद्ध छन्।