– अर्जुन तिमिल्सिना

काठमाण्डौ । लगातार बढेको सेयर बजारमा केही दिनदेखि निरन्तर गिरावट आइरहेको छ। 

बजार लगातार घट्न थालेपछि आमलगानीकर्तामा एक किसिमको अन्यौलता देखिएको छ। उनीहरुमा अहिले बजार के कारणले घट्यो र अब के हुन्छ भन्ने नै अन्यौलता र जिज्ञासा रहेको पाइन्छ। 

अहिले सेयर बजार घट्नुमा लगानीकर्ताका आ–आफ्नै तर्क रहेको पाइन्छ। केहीले बजारको यो घटाइलाई स्वाभाविक मान्छन् भने केहीले त्यो मन्न तयार छैनन्। 

केही लगानीकर्ता अहिले बजार घट्नुमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको सेयर धितो कर्जाको सीमालाई मुख्य कारण मान्छन्। केहीले बजारको घटाइ प्राकृतिक रहेको बताउँछन्। 

सक्रिय लगानीकर्ता नवराज दाहाल नियामक निकायको अपरिपक्व नीतिका कारण बजार घटेको बताउँछन्। दाहाल ठूला लगानीकर्ताको दम्भ र साना लगानाीकर्ताको  धैर्यताको अभावले बजारमा बिक्रीचाप परेको तर्क गर्छन्। ‘सेयर कर्जाको सीमाले पनि बजारमा नकारात्मक प्रभाव परेको हो’, उनले भने, ‘तर विज्ञले आमलगानीकर्तालाई बजारका बारेमा राम्रोसँगै बुझाउने र मिडियाले पनि सकारात्मक भूमिका खेल्ने हो भने आगामी दिनमा बजारको यात्रा बुलिस नै रहनेछ।’ 

दाहालको विचारमा बजारलाई ११०० र ३२०० सँग तुलना गर्नै मिल्दैन। ‘किनकि अहिले अनलाइन कारोबारको सहजता, थुप्रै आमलगानीकर्तामा बजारको पहुँच पुगेको छ’, उनले भने, ‘अहिले साना लगानीकर्ताले बजारलाई बुझेर लगानी गर्नुपर्छ र ठूलाले प्रविधिलाई आत्मसात गर्न सक्नुपर्छ।’ 

आगामी दिनमा नियामक निकाय सकारात्मक भएर विरोधाभाष नीतिहरु परिवर्तन गरेमा बजार तुरुन्तै माथि जान सक्ने दाहालको भनाइ छ। ‘नत्र केही समय बजार साइवेजमा पनि जान सक्छ’, उनले भने। 

सक्रिय लागनीकर्ता उज्ज्वल कार्की बजार केही दिनमै फर्किन सक्ने बताउँछन्। ‘लाभांश घोषणाको बेला छ, लगानीकर्ताको सहभागिता पनि उच्च छ’, उनले भने, ‘बजारमा जति करेक्सन आउनुपर्ने थियो, आइसक्यो। अब धेरै तल जाँदैन।’

ब्याजदर १–१.५ प्रतिशतले बढ्दैमा सेयर बजारलाई नकारात्मक प्रभाव नपार्ने कार्कीको भनाइ छ। ‘सेयर धितो कर्जाको सीमा करेन्सन खोजेको बजारमा एउटा बहाना बन्यो’, उनले भने, ‘भोलिबाटै बजार फर्किन पनि सक्छ।’

कार्कीले अहिले नै डराएर सेयर बेच्न आवश्यक नरहेको बताए। ‘यो बेला सकिन्छ भने सेयर उठाउने हो, नसके आफूसँग भएका सेयर होल्ड गर्ने हो।’

सक्रिय लगानीकर्ता केशव कोइराला (काका) विचारमा बजार अप्राकृतिक रुपमा बढेको कारण नियामक निकायले नियन्त्रण गर्न खोज्दा करेक्सन आएको बताउँछन्। ‘बजार जे घट्नु थियो, घटिसक्यो, अब घट्ने अवस्था छैन’, उनले भने, ‘ब्याजदर बढ्ने आन्तरिक सूचना चुहिकै कारण बजार पहिले नै घट्यो’, उनले भने, ‘अब बजार तल जाँदैन, चाडपर्वले पनि बजारलाई असर गर्दैन।’ 

कोइरालाले पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए। 

सक्रिय लगानीकर्ता भेषराज पौडलेको विचारमा चाडपर्व र कोभिडपछि चलेको  सामान्य जनजीवनका कारण बजारमा केही करेक्सन आएको बताउँछन्। ‘बजार अझै केही समय साइडवेजममा बसेर फेरि माथि नै जाने हो’, उनले भने, ‘अहिले नै बुल सकिएको छैन।’