काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले झन्डै ३ महिनापछि शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका छन्।

गठबन्धनबाट नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री भएका थिए। त्यतिखेर कांग्रेसबाट ३ मन्त्री र १ राज्यमन्त्री बनाइएको थिए भने नेकपा माओवादी केन्द्रबाट दुईजनालाई मन्त्री बनाइएको थिए। अरू मन्त्रालय प्रधानमन्त्री देउवाले आफैँसँग राखेका थिए।

आज विस्तारित मन्त्रिपरिषदमा कसैलाई पनि उपप्रधानमन्त्री बनाइएको छैन। सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेस, माओवादी, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) लाई समेटेर देउवाले आज मन्त्री बनाएका हुन्।

देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै राख्ने भएका छन्। यसका साथै यसअघि कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीको जिम्मेवारी हेरफेर गरेर सञ्चार मन्त्रालयमा पठाइएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन्।

राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार बालकृष्ण खाण देउवा सरकारको दोस्रो वरियतामा रहेका छन्।