– अनन्त्य सुन्दर

काठमाण्डौ । दसैँ–तिहारअघि भारी अंकको उत्तरचढाव भएको नेपाली सेयर बजार चाडपर्व पछि बढ्ने धेरै लगानीकर्ताको आशा थियो। तर, हिजो झन्डै २० अंकको गिरावट आएको बजारमा आज झन्डै ८० अंकको भारी गिरावट भएको छ। सेयर बजारका अगुवाहरु आज नयाँ तथा साना लगानीकर्ताले हल्लाको पछि लागेर सेयर बेचेकाले बजारमा भारी अंकको गिरावट आएको बताउँछन्।

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार नवप्रवेशी लगानीकर्ताहरु अनावश्यक हल्लाको पछि लगेर प्यानिक भएर सेयर बेचेकाले बजार घटेको बताउँछन्। ‘आज बजारमा राष्ट्र बैंकले सेयर लोन कडाइ गर्ने साथै ब्याजदर बढाउने हल्ला भएसँगै  लगानीकर्ताहरु प्यानिक भएर सेयर बेचेको देखिन्छ’, उनी भन्छन्, ‘मौद्रिक नीतिको समीक्षा मंसिरमा हुन्छ। त्यसैले लगानीकर्ताहरु अनावश्यक हल्लाको पछि लागेर कारोबार गर्नुको कुनै औचित्य हुँदैन। गभर्नरले विभिन्न फोरमहरुमा सेयर धितो कर्जाको कडाइ गर्दा सोचेको भन्दा पनि गलत परिणाम आएको बताएका छन्। त्यसका साथै सीएनआईलगायत अन्य फोरमका पदाधिकारीहरुसँगको अन्तरक्रियामा ब्याजदर बढ्न नदिने प्रतिबद्ध पनि गरेको कुरा आएको छ। त्यसैले लगानीकर्ताहरु ससाना कुराहरुमा प्यानिक हुन् जरुरी छैन।’

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी केही मिडियाहरुले राष्ट्र बैंकले सेयर धितो कर्जामा थप कडाइ गर्ने साथै ब्याजदर बढ्ने समाचार सम्प्रेषण भएसँगै लगानीकर्ताहरुले प्यानिक भएर सेयर बेचेकाले बजार घटेको बताउँछिन्। ‘प्राविधिक विश्लेषणले सामान्य करेक्सन देखाएको थियो। तर, आज राष्ट्र बैंकको हल्लाले बजार अप्रत्याशित रुपमा घट्यो’, उनी भन्छिन्। 

लगानीकर्ताहरुले हल्लाको पछि नलागी अध्ययन गरेरमात्र लगानी गर्न तिवारीको सुझाव छ।    

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाइएको क्यापको समीक्षा नगर्ने साथै सीडी रेसियो बढ्ने हल्लाले गर्दा आज बजार घटेको बताउँछिन्। उनी भन्छिन्, ‘हामीले बजारलाई अंकुश नलगाई स्वतन्त्र रूपमा चल्न दिनुपर्छ भनेर आवाज उठाइरहेका छौँ। तर, त्यसका बाबजुद समय समयमा पुँजी बजारलाई प्रत्यक्ष रूपमा असर गर्ने नीतिहरु ल्याइन्छ।’

सेयर बजार लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला राष्ट्र बैंकबाट सेयर धितो कर्जा साथै ब्याजदरबारे आधिकारिक रूपमा कुनै कुरा नआएको तर हल्लाले गर्दा बजार घटेको बताउँछन्। ‘राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप गरेसँगै तत्कालै ब्याजदर नबढ्ने देखिन्छ। अहिले नियामक निकायहरु नेतृत्वविहीन भएकाले खेलाडीहरुले अनावश्यक हल्ला गरेर बजारलाई अस्थिर बनाउन खोजेको छन्’, बास्तोला भन्छन्।