– अर्जुन तिमिल्सिना

काठमाण्डौ । जनगणनाको काम सुरु भइसकेको छ। देशमा महिलाको जनसंख्याको वास्तविक आँकडा त आउनै बाँकी छ। तर, एउटा भनाइ भने सुनिँदै आएको छ– ‘देशको आधा आकाश महिलाले नै ढाकेका छन्।’

अहिले सेयर बजारमा भित्रिने विद्यार्थी तथा गृहिणीको संख्या पनि बढ्दो छ। सेयर कारोबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुने र यो समयमा बच्चाबच्ची स्कुल पठाएर आफूले पनि सेयर कारोबार गर्न सकिने भएकोले पुँजीबजार महिला लगानीकर्ताका लागि आम्दानीको हिसाबले आकर्षित क्षेत्र बनेको हो। 

यही कारण पछिल्लो समय सेयर बजारमा महिला लगानीकर्ताको संख्या पनि बढ्दै गएको सीडीएससीको तथ्यांकले देखाएको छ। गृहिणीबाहेक जागिरे महिलाहरु पनि आफ्नै अफिसबाट तथा विदेशमा रहेका महिला लगानीकर्ताहरुले पनि समय मिलाएर आफ्नो आम्दानीको केही अंश बचत गरेर सेयर बजारमा लगानी गर्नेको संख्या अहिले बढ्दो छ। 

सेयर पनि सम्पत्ति हो भन्ने आममानिसको धारणा बढ्दै जाँदा र सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट सेयरको ज्ञान पाइने भएकोले अहिले महिला सेयर लगानीकर्ता बढेको सीडीएससीका प्रवक्ता सुरेश न्यौपाने बताउँछन्। ब्रोकर हाउस तथा क्लब हाउसमा पनि महिला लगानीकर्ता सेयर बजारका विषयमा जान्न तथा सुन्नका लागि राम्रै उपस्थिति भएको पाइन्छ। 

पछिल्लो समय प्राथमिक सेयरको आकर्षण बढ्दै जाँदा महिला लगानीकर्ताको संख्या पनि बढेको न्यौपानेको बुझाइ छ। 

घरमा सिरियल तथा फिल्म हेरेर बस्नुभन्दा सेयर बजारमा लाग्नु नै फाइदाजनक हुने ब्रोकर हाउसहरुमा भेटिएका महिला लगानीकर्ताहरु बताउँछन्। एक अनुसन्धानअनुसार पुँजीबजारमा पुरुषभन्दा महिला लगानीकर्ता सफल भएको पनि पाइएको छ। किनकि उनीहरुले अनुशासित ढंगले लगानी गरेका हुन्छन्। 

सीडीएससीको तथ्यांकअनुसार अहिले नेपालको पुँजीबजारमा कुल ४७ लाख १२ हजार डिम्याट खाता रहेका छन्। तीमध्ये २७ लाख ८ हजार ९९  जना पुरुष लगानीकर्ताका छन् भने २० लाख १ हजार ५४१ जना महिला लगानीकर्ताका छन्। कुल डिम्याट खातामध्ये महिला लगानीकर्ताको हिस्सा ४२ प्रतिशत रहेको छ।