काठमाण्डौ । कोभिडको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण रोकथामका लागि इजरायलले खोपको ४ मात्र लगाउने योजना बनाएको छ। यस्तो योजना बनाउने इजरायल विश्वकै पहिलो देशको हो। 

इजरायलका महामारी विशेषज्ञहरुले ६० वर्षमाथिका मानिस र स्वास्थ्यकर्मीलाई चौथो बुस्टर डोज लगाउन सिफारिस गरेका छन्। प्रधानमन्त्री नफ्टाली बेनेटले पनि यस्तो योजनाको स्वागत गर्दै स्वास्थ्य अधिकारीहरुलाई तयारी गर्न निर्देशन दिएका छन्। 

यो योजना तब सार्वजनिक भयो जब इजरायलमा मंगलबार ओमिक्रोनको संक्रमणबाट एक बिरामीको ज्यान गयो।
इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म त्यहाँ ओमिक्रोनबाट कम्तीमा पनि ३४० जना संक्रमित भइसकेका छन्। 

चौथो बुस्टर डोज लगाउने फैसला अब त्यहाँका वरिष्ठ स्वास्थ्य अधिकारीहरुले लिनुपर्नेछ। प्रधानमन्त्री बेनेटले तेस्रो डोजपछि कम्तीमा ४ महिनापछि चौथो डोजको अनुमति दिनेमा आशावादी छन्। ‘यो निकै राम्रो खबर हो’, उनले भने, ‘विश्वलाई चेपटामा पार्न लागेको ओमिक्रोनबाट बच्न चौथो बुस्टर डोजलाई प्रभावकारी भूमिका खेल्नेछ।’

कोभिड नियन्त्रणका लागि इजरायलले तीव्रगतिमा खोप अभियान चलाएको थियो। त्यहाँको कुल जनसंख्या ९३ लाखमध्ये ६३ प्रतिशत मानिसले खोपको दुवै डोज लिइसकेका छन्। – एजेन्सी