काठमाण्डौ । राजश्व अनुसन्धान विभागले बाइनान्समार्फत क्रिप्टोकरेन्सी कारोबार गर्ने ४ जनाविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दाय गरेको छ। 

विभागले कैलाली लम्कीचुवा–१० स्थायी ठेगाना भई हाल काठमाण्डौ कालोपुल गुरुङटोलमा बस्ने दिनेश खड्का, उनकी दिदी भगवती खड्का, उनका बुबा नरबहादुर खड्का र उनकी साथी अनिता धितालविरुद्ध ३७ करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बिगो दाबीसहित सोमबार काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। उनीहरुविरुद्ध सामूहिक मिलेमतोमा मोबाइल एप्स ई–स्क्रिल तथा बाइनान्स प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कसुर गरेको तथा डलरको अनलाइनमार्फत अवैध रुपमा कारोबार गरेको मुद्दा दायर भएको छ। 

पक्राउ परेकाहरुको बयान, विभिन्न बैंकका खाता विवरण, बरामद मोबाइलमा प्राप्त मिसिल संलग्न डाटाहरुलगायत कल डिटेल विवरणसमेतका मिसिल संलग्न प्रमाणबाट मुद्दा दायर गरिएको विभागले जनाएको छ। त्यस्तै उनीहरुले नेपाल राष्ट्र बैंकको विभिन्न मितिका सूचनासमेतले निषेधित कसुर गरेको पुष्टि हुन आएको विभागले जनाएको छ। 

दिनेश खड्काले ई–स्क्रिल र बाइनान्समार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गरी ग्लोबल आईएमई बैंकसमेतबाट ९ करोड ७९ लाख ९८ हजार रुपैयाँ, अनिता धितालको लक्ष्मी बैंक समेतबाट ५ करोड ७७ लाख ६ हजार रुपैयाँ, भगवती खड्काको एनआईसी एसिया बैंक समेतबाट  २० करोड ४२ लाख ९४ हजार रुपैयाँ, नरबहादुर खड्काको ग्लोबल आईएमई बैंकबाट १ करोड ६४ लाख ११ हजार रुपैयाँ गरी कुल बिगो ३७ करोड ६४ लाख ६४ ११ हजार १ सय बिगो कायम गरिएको हो। उनीहरुले ३१ लाख २७ हजार ८९६ डलर ७९ सेन्टबराबरको सटही गरेको र प्रतिडलर १२०.३४ रुपैयाँको दरले बिगो रकम कायम गरिएको विभागले स्पष्ट पारेको छ। 

प्रतिवादीहरुको कार्य विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ को उपदफा (१), दफा ४ को उपदफा (१), दफा ५ को उपदफा (१) र दफा १२ को विरुद्धमा रहेको विभागले जनाएको छ। विभागद्वारा दायर मुद्दामा उनीहरुलाई सोही ऐनको दफा १७ को उपदफा (१) बमोजिम बिगो जफत गरी सजाय हुन र दफा १७ को उपदफा (९) बमोजिम तीन वर्षसम्मको कैद सजायको माग गरिएको छ।