काठमाण्डौ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भोलि माघ २४ गतेबाट सवारीसाधनमा जोरबिजोर हटाउन सरकारलाई सिफारिस गरेको छ। 

सीसीएमसीको आज बसेको बैठकले उपत्यकामा सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको हो। गत माघ १४ गतेदेखि उपत्यकामा दुईपांग्रे सवारीसाधन र ट्याक्सीमा जोरबिजोर प्रणाली लागू गरिएको थियो। 

यसैगरी सीसीएमसीले फागुन १ गतेदेखि विद्यालय, सिनेमा घर र रात्रीकालिन व्यवसाय सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय गरेको छ। 

फागुन १ गतेदेखि १२ वर्षमाथिका विद्यार्थीको हकमा नियमित भौतिक पठनपाठन र सोभन्दा कम उमेरका विद्यार्थीको हकमा आलोपालो कक्षा सञ्चालन हुने गरी अघि बढ्न पनि सीसीएमसीले सिफारिस गरेको छ।

रात्रीकालिन व्यवसाय, सिनेमा घर, जिमलगायतका क्षेत्रलाई पनि फागुन १ गतेदेखि राति १० बजेसम्म सञ्चालन हुन पाउने गरी अनुमति दिन सिफारिस गरिएको छ।

सीसीएमसीको बैठकले जनस्वास्थ्यको मापदण्ड पालना गरेर कुल क्षमताको ५० प्रतिशत वा १०० भन्दा बढी व्यक्ति जम्मा नहुने गरी पार्टी प्यालेस सञ्चालन गर्न अनुमति दिन सिफारिस पनि गरेको छ। 

सीसीएमसीको बैठकले सबै पेसा–व्यवसाय सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्न आग्रह गर्दै त्यसको नियमित अनुगमन हुने पनि जनाएको छ। सीसीएमसीको सिफारिसपछि तीनै जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरका सीडीओहरुको आजै बैठक बसी नयाँ आदेश जारी गर्ने भएका छन्।