काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार महाअभियोग दर्ता भएको छ।

नेपालको संविधानको धारा १०१ बमोजिम महाअभियोग गर्दा भएको हो। महाभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा परेका छन्। 

संविधानको धारा १०१ को उपधारा (२) बमोजिम महाअभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैनन्। 

महाअभियोग दर्ता भएसँगै प्रधानन्यायाधीशले काम गर्न नमिल्ने कानुनविद्हरु बताउँछन्। 

सत्तारुढ पाँच दलीय गठबन्धनका सांसदहरुले बिहान ११ बजेरमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले हस्ताक्षर गरेका छन्।

महाअभियोग लगाउनुका आधार र कारण भनेर २१ वटा बुँदा समावेश गरिएका छन्। 

जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन्।

कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्नेछन्।