– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । अघिल्लो साता निरन्तर घटेको सेयर बजारमा यो साताको पहिलो दिन आइतबार पनि भारी अंकले गिरावट आएको छ। योसँगै अबको सेयर बजारको बाटो के होला भन्ने धेरै लगानीकर्तामा जिज्ञासा अवश्य रहेको हुन सक्छ। 

एकैदिन सेयर बजार १०० अंक घटेको सेयर बजार अब कहिले सम्हालिएला ? यस विषयमा बजार जानकारहरुको विभिन्न मत रहेको पाइएको छ। 

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट आज बजार घट्नुमा पहिलो कारण ब्याजदर नै रहेको बताउँछन्। ‘मध्यान्तरमा प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ताको भएको कुरा पनि आयो’, उनले भने, ‘यो धेरै नसोचेको विषय थियो। यसले बजार थप प्यानिक बनायो।’

‘सेयर बजारमा हामीले के भुल्नुहुन्न भने बजार बढेपछि घट्छ र घटेपछि बढ्छ’, रानाभाटले भने, ‘बजार विस्तारै सम्हालिन्छ नै। यसलाई अवसरकै रुपमा लिनुपर्छ।’

‘बजार घट्ने–बढ्ने स्वाभाविक नै हो’, रानाभाटले भने, ‘अहिले अनलाइन भएकोले बजार बढ्दा पनि ह्वात्तै बढ्ने र घट्दा पनि ह्वात्तै घट्ने भएको हो।’ 

बजार जानकार एवं सरस्वती क्याम्पसको एमबीएम संकायका प्रमुख केपी पाण्डेय आज बजार घट्नुमा ब्याजदरले भन्दा पनि मनोविज्ञानले बढी भूमिका खेलेको बताउँछन्। ‘हाम्रो मार्केट सानो छ। तर, डिम्याट संख्या नै ५० लाख पुगेको छ’, उनले भने, ‘बैंकिङ सेक्टर अझै बढ्न बाँकी नै रहेको छ। जलविद्युतमा स्थायी आम्दानी हुने भएकोले डराउनुपर्दैन।’

‘मेरो विचारमा बजार धेरै घट्छजस्तो लाग्दैन’, पाण्डेयले भने, ‘आज जति घट्यो, त्यति भोलि घट्दैन।’

अहिले होल्ड गर्नेको संख्या अधिक रहेको उल्लेख गर्दै पाण्डेयले सेयर लोनको मात्रा पनि घटेको बताउँछन्। ‘ब्याजदर बढे पनि सेयर लोन नै नपाउने अवस्था छ’, उनले भने, ‘त्यसैले एक प्रतिशतको ब्याज बढाइले लगानीकर्ता अहिले नै भयभित हुन आवश्यक छ जस्तो मलाई लग्दैन। बजार छिट्टै सम्हालिन्छ।’

अर्का बजार जानकार नवराज दाहाल जब तरलता र दोस्रो बजार सम्बिन्धित छैन भन्ने कुरा लगानीकर्ताले बुझ्छन् त बजार अवश्य सम्हालिने बताउँछन्। ‘अझै  धेरै लगानीकर्ता परिपक्क हुन बाँकी छ जस्तो मलाई लाग्छ’, उनले भने। 

‘अहिले बजार घट्नुमा चुनावको बेला बढ्छ र बेचौँला भनेर राखेको सेयरले आज दबाब दिएको जस्तो देखिन्छ, आजको पेनिक त्यही नै हो’, दाहालले भने, ‘यसपालिको चुनावको घोषणाले धेरैलाई धोका दियो। कसैले पनि यसरी घट्ला भनेर सोचेको थिएनन्।’

अझै पनि बजार फर्किने आधारहरु प्रशस्तै रहेको दाहाल बताउँछन्। ‘पहिलो भनेको नियमन निकायमा नयाँ अनुहार आउँदै छन्। उनीहरु अवश्य पनि बजार घटेको देख्न चाहँदैनन्’, उनले भने, ‘दोस्रो भनेको राष्ट्र बैंकले क्रिप्टोकरेन्सीमा कडाइँ गरेको छ। यसले अब रेमिट्यान्स बढ्छ। तेस्रो भनेको आज बजार घटेर लगानीकर्तालाई भन्दा नेपाल सरकारलाई बढी चिन्ता छ। यसै कारणले मलाई बजार घट्नुभन्दा बढ्ने आधार बढी छन् जस्तो लाग्छ।’