– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सेयर बजार आज बिहीबार बन्द रह्यो। सरकारले ग्याल्पो ल्होसारका अवसरमा सार्वजनिक बिदा दिएकोले सेयर बन्द रहेको हो।
बजार बन्द भए पनि केही ब्रोकर हाउसहरु आन्तरिक काम गर्नका लागि भनेर खुलेका थिए। ब्रोकर हाउस खुलेको चाल पाएर केही लगानीकर्ता सेयर किनेको रकमको चेक बुझाउन पुगेका थिए। केही लगानीकर्ता भने ईडीआईएस नभएको भन्दै ब्रोकर हाउस पुगेको पाइयो।
बजार बन्द रहे पनि लगानीकर्ता र ब्रोकर हाउसका सञ्चालकहरु भने बजार निरन्तर घटिरहेकोमा विभिन्न तर्कवितर्क गरिरहेका भेटिए। ‘कुनै बेला युवराज खतिवडा अर्थमन्त्री हुँदा सेयर बजारको साँढेले कहिल्यै ठाडो शिर गरेन’, एक ब्रोकर हाउसमा भेटिएका लगानीकर्ता अमित श्रेष्ठले भने, ‘बाबुराम भट्टराई अर्थमन्त्री हुँदा त सेयर बजार झन्डै क्र्यासकै बाटोमा चलेको थियो।’
अहिलेका अर्थमन्त्री जनार्दन शर्माले सकारात्मक कुरा बोल्दा पनि सेयर बजारले नरुचाएको श्रेष्ठको भनाइ छ। ‘हिजोमात्रै अर्थमन्त्री शर्माले पुँजीबजारको विकास र विस्तारमा जोड दिँदै सेबोन र नेप्सेका नवनियुक्त प्रमुखहरु ११ बुँदे निर्देशन दिएका छन् तर बजारमा भारी अंकले घट्यो’, उनले भने, ‘अर्थमन्त्रीहरु बोल्नै नहुने रहेछ, बजार घटिहाल्छ।’
सोही ब्रोकर हाउसमा भेटिएका अर्का लगानीकर्ता सुरज पाठकले श्रेष्ठको विचारमा ठट्यौली पारमा जबाफ फर्काए, ‘बाघ भनेको बाघै हो, साँढे नडराउने त कुरै भएन नि।’
पाठकले अहिले बजार घट्नुको मुख्य कारण तरलतामा दबाब पर्दा नै रहेको बताए। ‘अर्कोतर्फ १० वर्षको इतिहास हेर्ने हो भने यो समय सधैँ सेयर बजार घट्ने नै गरेको छ’, उनले भने, ‘अहिले बजार घट्दा अर्थमन्त्रीलाई दोष लगाउनुको अर्थै छैन।’
एक ब्रोकर सञ्चालकले पनि कसैलाई दोष लगाउनुभन्दा पनि बजार अफ सिजनकै कारण घटेको बताए। ‘अर्को बजारमा तरलता सहज छैन, तरलता बढेसँगै बजार पनि बढ्छ’, ती सञ्चालकले भने।
फागुन र चैत भनेको बोनस तथा हकप्रद सेयर लिस्टिङ हुने समय भएकोले पनि माग र आपूर्तिका कारणले पनि बजार घटेको ती सञ्चालकको तर्क छ।
अर्को एक ब्रोकर हाउसमै भेटिएका केही लगानीकर्ताले भने अर्थमन्त्रीको हिजोको निर्देशनलाई खुलेरै समर्थन गरे। ‘अर्थमन्त्री इन्साइडर ट्रेडिङ रोक्न, इन्ट्राडे कारोबार सुरु गर्न र सर्टसेलिङको व्यवस्था हुने गरी प्रणालीमा सुधार गरी सुरु गर्न, बुक बिल्डिङ कारोबार प्रणाली लागू गर्नजस्ता विषयमा सकारात्मक नै छन्’, लगानीकर्ता मनोज महर्जनले भने, ‘अर्थमन्त्रीले उठाइएका विषय त ठिकै छन् तर मुख्य विषय भनेको कार्यान्वयन नै हो।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19