काठमाण्डौ । पदमा रहँदा अधिकांश समय सेयर बजारविरोधी अभिव्यक्ति दिने गरेका पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर डा युवराज खतिवडाले अहिलेको सरकारले समग्र विकासका लागि पुँजीबजारको विकासमा ध्यान नदिएको आरोप लगाएका छन्।
एमालेले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्। डा खतिवडा पुँजी बजारका लगानीकर्तामाझ बजारविरोध अर्थमन्त्रीका रुपमा परिचित छन्।
उनले बेला–बेला पुँजीबजारलाई अनुत्पादक क्षेत्रका रुपमा तुलना गर्ने गरेका थिए। उनका यस्तै विवादास्पद अभिव्यक्तिका कारण अर्थमन्त्रीबाट राजीनामा दिँदा नेप्से परिसूचकमा उछाल आएको थियो।
डा खतिवडाले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एक वर्षभन्दा कम अवधिमा आयात धान्ने विदेशी मुद्रा सञ्चिती ह्वात्तै घट्नु नै आर्थिक संकटको संकेतका रुपमा बुझ्नुपर्ने बताए। ‘नौ महिनाअघि मुलुकमा भएको विदेशी मुद्राको सञ्चितीले ११ महिनाबराबरको वस्तु तथा सेवाको आयात धान्न सक्थ्यो तर अहिले त्यो क्षमता ६ महिनामा सीमित बन्न पुगेको छ’, खतिवडाले भने, ‘यो आर्थिक संकटको संकेत।’
खतिवडाले सरकारले मनपरी ढंगले आर्थिक नीति चलाएको, प्रतिस्थापन बजेट ल्याएर अर्थतन्त्र डामाडोल बनाएको, चालु खर्च र पुँजीगत खर्चको सन्तुलन नमिलाएको आरोपसमेत लगाए। ‘अहिलेको सरकारको ध्यान अर्थतन्त्रको समस्या हल गर्न होइन स्वार्थसिद्धमात्रै केन्द्रित छ’, उनले थपे, ‘ठेक्कापट्टामा सेटिङ, कमाउ धान्दामा लिप्त हुने मन्त्रीहरुले निर्वाचन स्रोत व्यवस्थापनका नाममा खुलेआम घुस मान्न थालेका छन्। निजी क्षेत्रले समस्या राख्ने ठाउँ नै छैन।’
खाद्यवस्तुको मूल्य अचाक्ली वृद्धि भएको तर यस्तो बेलामा बजारमा छाडिएको दाबी गर्दै खतिवडाले बाह्य क्षेत्रको असन्तुलन संकटग्रस्त दिशामा जान थालेको पनि बताए। ‘यो वर्ष १२ खर्बबराबरको आयात हुने देखियो, त्यसमा २ खर्बजतिको निर्यात होला, यसरी हेर्दा यो वर्षको व्यापार घाटा २० खर्ब पुग्ने देखिन्छ’, उनले भने, ‘कुल ग्राहस्थ उत्पादनको ४५ प्रतिशत व्यापार घाटा हुने अवस्था देखियो। यो भनेको भयावह अवस्था हो।’
आर्थिक तथा वित्तीय संकट भोग्ने मुलुकहरुमा चालु खाता घाटा जीडीपीको ८ प्रतिशतभन्दा माथि जाँदा खतराको घन्टी बज्ने गरेको उल्लेख गर्दै खतिवडाले भने, ‘हाम्रोमा ४ खर्बबराबरको चालु खाता घाटा भइसकेको छ। यो वर्ष जीडीपीको १० प्रतिशतभन्दा माथि हुने छाँट देखिन्छ।
उनले भने, ‘भुक्तानी सन्तुलनको अवस्था पनि खल्बलिएको छ। यो वर्ष असन्तुलन ४ खर्ब पुग्न सक्ने देखिन्छ।’
पूर्वगभर्नरसमेत रहेका डा खतिवडाले राजस्व चुहावट, तस्करी, भ्रष्टाचार, कमिसन तन्त्रलगायतका कारणले बैंकिङ प्रणालीबाट पैसा हराएको समेत दाबी गरे। ‘क्रिप्टोकरेन्सी, हाइप फन्डजस्ता आधुनिक कारोबारमार्फत समेत पैसा हरायो, प्रायोजित व्यापार विचलनमार्फत पैसा हराउने खेलमा स्वयं सरकार नै लाग्यो’, उनले भने, ‘लोडसेडिङको अपजस आउला भनेर महँगोमा बिजुली किनिकएको छ। संस्थानहरुको पनि डामाडोल छ।’
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19