– अर्जुन तिमिल्सिना
काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ल्याइएको नीतिहरुका कारण सेयर बजारमा नकारात्मक प्रभाव परेको भन्दै केही महिनाअघि लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंक घेराउ गरेका थिए। पुँजी बजारमा प्रत्यक्ष रुपमै हस्तक्षेप गरेको भन्दै उनीहरु आन्दोलित भएका थिए।
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले पुँजी बजारमा लगानी गर्न एउटा संस्थाबाट ४ करोड रुपैयाँमात्रै र समग्र संस्थाबाट लगानीकर्ताले जम्मा १२ करोड रुपैयाँमात्रै सेयर धितो कर्जा लिन सक्ने सीमित तोकिएको थियो। त्यसको पुँजी बजारमा चर्को विरोध भएको थियो।
यसैगरी राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरुको निक्षेप गणनाविधि सीसीडीलाई परिमार्जन गर्दै सीडी रेसियोमा ल्यायो। योसँगै बैंक तथा वित्तीय संस्थामा निक्षेपको अवस्था झनै असहज भएको र यो व्यवहारिक हुन नसक्ने भन्दै केही बैंकहरुले नै यसको विरोध गरेका थिए।
यिनै नीतिगत व्यवस्थाका कारण सरकारको मुख्य आर्थिक सल्लाहकार रहेका रुपमा रहेका गभर्नर महाप्रसाद अधिकारी तीव्र आलोचना पनि भयो। अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच लामो समयदेखि समन्वय र बोलचाल हुन नसकेको खुलास पनि भयो।
यसैबीच गत साता मन्त्रिपरिषद्को बैठकले सरकारलाई सहयोग नगरेको भन्दै गभर्नर अधिकारीलाई निलम्बन गर्यो। योसँगै पुँजी बजारमा अनुदार भनेर चिनिएका गभर्नर अधिकारीको निलम्बनलाई निकै सेयर बजारमा निकै चासोका साथ हेरिएको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल राष्ट्र बैंकको पछिल्लो नीतिले सेयर बजार प्रभावित बनेको बताउँछन्। ‘बजार ३२०० हुँदैमा नियामक निकाय अत्तालिनुपर्ने आवश्यकता थिएन’, उनले भने, ‘बजारमा निरन्तर रुपमा नियामकहरुले अक्रमण गरे। सबैभन्दा पहिले सेबोनले जोखिमपूर्ण भन्दै ५१ वटा कम्पनीहरुको नामावली सार्वजनिक गर्यो। त्यसपछि बैंक तथा वित्तीय क्षेत्रहरुलाई सेयरमा लगानी गर्न रोकियो। मैद्रिक नीतिमार्फत ४–१२ को क्याप लगाइयो। सीडी रेसियो तथा जोखिम भारलाई १०० बाट १५० मा पुर्यो।’
अहिले बैंक तथा वित्तीयत्रमा तरलता संकट देखिनुको मुख्य कारण पनि राष्ट्र बैंकको गतल नीति नै रहेको ढकालको भनाइ छ। ‘कुनै बेला २० अर्ब रुपैयाँ कारोबार भएको पुुँजी बजारमा हिजोआज २–३ अर्ब रुपैयाँ सीमित भएको छ’, ढकालले भने, ‘यसले सरकारलाई नै राजस्वमा नोक्सानी भएको छ। सरकारको गतल नियमनलाई हामीले पहिलेदेखि नै बिरोध गर्दै आएका थियौँ। अहिलेको सरकारले गभर्नरलाई निलम्बन गरेको छ। योसँगै पुँजी बजारमा लगानीकर्ताको मनोबाल बढ्ने निश्चित छ।’
बजार पनि धेरै तल झरिसकेको र चैतको प्रभाव पनि सकिएकोले अब बजार लयमा फर्किने ढकाल बताउँछन्।
यो सरकारले राष्ट्र बैंकको गलत नियमनमा चासो लिएको कारण अब केही आश गर्न सकिने ढकाल बताउँछन्। ‘अब मौद्रिक नीतिको त्रैमासिक समीक्षामा गलत नीतिहरुमा परिमार्जन हुन सक्ने सम्भावना देखिन्छ’, उनले भने।
पुँजी बजार दबाब समूहका महासचिव नयन बास्तोला पछिल्लोपटक गभर्नर नै पुँजी बजारमा खेल्न खोजेको जस्तो देखिएको बताउँछन्। ‘गभर्नरले अघिल्लोपटक ल्याएको मौद्रिक नीति र पछिल्लोपटक ल्याएको मौद्रिक नीतिमा विभेद देखियो’, उनले भने, ‘त्यसैले हामीले विरोध पनि गर्यौँ। सरासर हेर्दा राजनीतिक पूर्वाग्राह ढंगले गर्भनरले अर्थमन्त्रीलाई समर्थन नगरेको देखियो।’
गभर्नर निलम्बित भएसँगै अब लगानीकर्ताहरुको मनोबल बढेर जाने बास्तोलको भनाइ छ। ‘केही न केही सकारात्मक प्रभाव पर्छ’, उनले भने, ‘अबको त्रैमासिक समीक्षा तथा बजेटबाट पुँजीबजारमैत्री वातावरण बन्न आवश्यक छ।’
बजार जानकार गोविन्दप्रसाद घिमिरे विभिन्न नीतिले सेयर बजारमा प्रभाब पारेको बताउँछन्। ‘सरकारको पछिल्लो कदमले बजारमा अल्पकालका लागि सकारात्मक प्रभाव पर्ने देखिन्छ’, उनले भने, ‘तर, दीर्घकालीन रुपमा बजार बढ्नलाई सिस्टममा नै पैसा आउनुपर्छ।’
पैसा बैंकिङ च्यानलभन्दा बाहिर हुँदा तरलतामा चाप परेको घिमिरे बताउँछन्। ‘अहिले ४–१२ क्याप ठूलो इस्यू होइन’, उनले भने, ‘स्रोत बढाउने मुख्य विषय हो।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago