काठमाण्डौ । सानिमा बैंक लिमिटेड तथा नेपालमा दृष्टिहिनताको क्षेत्रमा कार्यरत अग्रणी संस्था नेपाल नेत्र ज्योति संघका बीचमा दृष्टिसम्बन्धी समस्याका क्षेत्रमा पारस्परिक सहकार्य गर्न समझदारी भएको छ। 

उक्त समझदारीपत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा.डा. चेतराज पन्तले हस्ताक्षर गरेका छन्। 

यो समझदारीसँगै सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा रहेका नेपाल नेत्र ज्योति संघमातहतमा सञ्चालित आँखा उपचार केन्द्र तथा अस्पतालमा आँखासम्बन्धी रोगको उपचार तथा उपकरण खरिदका लागि आर्थिक सहयोग उपलब्थ गराउनेछ।

सानिमा बैंकले विगतमा पनि दृष्टिसम्बन्धी समस्याको रोकथाम र न्यूनीकरणका लागि संघसँग सहकार्यको काम गर्दै आएको अवस्थामा यस समझदारीले सम्बन्धित प्रदेशका लक्षित वर्गमा दृष्टिसम्बन्धी समस्याको समयमै पहिचान, रोकथाम तथा उपचारमा अझ बढी टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११५ वटा एटीएम सञ्चालनमा रहेका छन्।