– अनन्त्य सुन्दर
काठमाण्डौ । स्थानीय तहको निर्वाचनका लागि आजबाट उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेको छ। योसँगै चुनाव वैशाख ३० गते नै हुने लगभग निश्चित भएको छ।
निर्वाचन आयोगले वैशाख ११ र १२ गते देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको छ। उम्मेदवारी दर्ता आज बिहान १० बजेदेखि भोलि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा गर्न पाइनेछ।
स्थानीय निकायको चुनाव तोकिएको मितिमा हुने नहुने अन्यौलता नागरिकस्तरमा हुँदै गर्दा यसले प्रत्यक्ष असर पुँजी बजारमा पनि परेको जानकार बताउँदै आएका थिए। अहिले बजार घट्नुको प्रमुख कारण तरलता चापका साथै समयमा स्थानीय निकायको चुनाव नहोला भन्ने आशंका जानकारहरु राख्दै आएका थिए।
अब तोकिएको मितिमा नै चुनाव हुने लगभग निश्चित भएसँगै बजारमा लगानीका लागि सकारात्मक माहौल बन्ने बजारका अगुवाहरु बताउँछन्।
स्वतन्त्र पुँजी बजार संघका अध्यक्ष रोहन कार्की तोकिएको समयमा नै चुनाव हुने पक्का भएसँगै बजारमा सकारात्मक प्रभाव पर्ने बताउँछन्। ‘चुनाव हुने भएसँगै उम्मेदवारहरुको चुनावी खर्च बढ्छ। अहिले अधिकांशले स्रोत खुलाउन गाह्रो भएको चुनावका लागि राखिएको पैसा बैंकिङ प्रणालीमा नराखेर आफैँसँग राखेको भन्ने सुनिन्छ’, कार्की भन्छन्, ‘उक्त पैसा खर्च हुन् सुरु भएसँगै तरलता सहज हुनुको साथै बजारमा लगानीका लागि सकारात्मक माहौल बन्ने देखिन्छ।’
स्थानीय निकायको चुनाव सरकारले समयमा नै गरेसँगै आमनागरिकमा संघीय चुनाव पनि समयमा नै हुन्छ भन्ने मेसेज जाने कार्की बताएँछन्। ‘त्यसैले तोकिएको समयमा नै चुनाव हुने पक्का भएसँगै चुनावले लगानीकर्तामा पोजेटिभ सेन्टिमेन्ट विकास हुने देखिन्छ’, उनले भने।
सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला अहिले तरलता चापले लगानीकर्ताको अपेक्षाअनुरुप बजार नभए पनि स्थानीय निकायको चुनावले भने बजारमा सकारात्मक माहौल बन्ने बताउँछन्। ‘बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव हुनुको साथै साथै सिडी रेटियो पनि उच्च छ’, बास्तोला भन्छन्, ‘त्यसैले समयमा नै चुनाव हुने भएसँगै अनौपचारिक क्षेत्रमा भएको पैसा पनि बैंकिङ प्रणालीमा आउने र तरलता सहज हुने सम्भव प्रबल छ।’
‘झन्डै १ लाख प्रतिनिधिले स्थानीय निकायको चुनावमा भाग लिन्छन्। हरेक प्रतिनिधिले चुनावी खर्च २ लाख मात्र गर्दा पनि २ खर्ब रुपैयाँ बजारमा आउने र अर्थतन्त्र चलायमान हुन्छ’, बास्तोला भन्छन्, ‘त्यसैले चुनाव समयमा नै हुने भएसँगै विस्तारै तरलता सहज हुँदै जाने र बजारमा पनि सकारात्मक प्रभाव पर्ने देखिन्छ।’
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले विगतका दिनहरुमा पनि चुनावी वर्षहरुमा सेयर बजार राम्रो नै हुने गरेकाले चुनावी माहौलले बजारमा सकारात्मक प्रभाव पर्ने बताइन्। ‘बजारमा तरलता चापले गर्दा सकारात्मक न्युजहरुले पनि बजारलाई प्रभाव नपरेको देखिन्छ’, पोख्रेल भन्छिन्, ‘तर, चुनावमा अर्थतन्त्र चलायमान हुनुका साथै अनौपचारिक च्यानलमा भएको पैसा आउने भएकाले तरलता सहज हुने देखिन्छ। तरलता सहज भएसँगै बजारमा लगानीको वातावरण बन्ने सम्भावना उच्च छ।’
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago