–अनन्त्य सुन्दर

काठमाण्डौ । वैशाखमा ३० मा हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु अहिले घरदैलो कार्यक्रममा जुटेका छन्। मतदाता, उम्मेदवार, पार्टीका कार्यकर्तादेखि आमनागरिकसम्मलाई चुनाव चासो र छलफलको विषय बन्न पुगेको छ। अहिले मुलुकभर नै एक प्रकारको चुनावी माहौल सिर्जना भएको छ।

मुलुकको केन्द्र काठमाण्डौ महानगरपालिका पनि चुनावी माहौलले तातेको छ। चिया पसलदेखि यातायात, पार्क, कार्यालय, ब्रोकर अफिस सम्म चुनावी केन्द्रित गफ हुने गरेको पाइन्छ। राजनीतिकका साथै नागरिकस्तरमा काठमाण्डौ महानगरको यसपटकको स्थानीय निकायको चुनाव थप चासोका साथ हेरिएको छ। राजनीतिक विश्लेषकहरुले पनि यस पटकको महानगरको चुनावमा अप्रत्याशित निर्णय आउने बताउँदै आएका छन्।

यसपटक काठमाण्डौ महानगरको मेयर पदका लागि नेपाली कांग्रेसबाट सिर्जना सिंह, नेकपा एमालेबाट केशव स्थापित, राष्ट्रिय प्रजातन्त्रबाट मदनदास श्रेष्ठ, विवेकशील साझा पार्टीबाट समीक्षा बास्कोटा र स्वतन्त्र उम्मेदवार बालेन शाहले उम्मेदवारी दिएका छन्। यी उम्मेदवारहरु आफ्नो चुनावी अजेन्डासहित काठमाण्डौको घरदैलोमा जुटेका छन्।

पछिल्लो समय लाखौँको संख्यामा नागरिकहरु पुँजीबजारमा जोडिएसँगै ‘पुँजीबजार’ दलहरुको चुनावी अजेन्डामा समेटिएको बुझिन्छ। चुनाव नजिकिँदै गर्दा लाखौँ नागरिक जोडिएका पुँजीबजारको विकास र विस्तार पनि दलहरुका लागि चुनावी अजेन्डा बन्न पुगेको हो।

विवेकशील साझा पार्टीका तर्फ काठमाण्डौ महानगरपालिकाको मेयर पदकी उम्मेदवार समीक्षा बास्कोटा अर्थतन्त्र नै चलायमान बनाउने ‘पुँजीबजार’ विकास र विस्तारको लागि महानगरले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउँछिन्। ‘केन्द्र सरकार, विज्ञका साथै विभिन्न सरोकारवालाहरुसँग सहकार्य गरेर महानगरले सेयर बजार र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ’, बास्कोटा भन्छिन्, ‘काठमाण्डौलाई अमेरिकाको वाल स्ट्रिटको जस्तै सेयर बजारको केन्द्रका रुपमा विकास गर्न सकिन्छ। त्यसका लागि महानगरले विज्ञ टोली खडा गरेर सेयर बजारको केन्द्र भएको अन्य मुलुकको सहरको अध्ययन र अनुसन्धान गर्न आवश्यक छ।’

सेयर बजारमा काठमाण्डौमा ठूलो संख्या रहेका गृहिणी महिलाको सहभागिता बढाउन आवश्यक रहेको बास्कोटा बताउँछिन्। ‘त्यसका लागि महानगरले लगानीकर्ता संघसंगठन, ब्रोकर, मर्चेन्ट बैंकर, नियामक निकायहरुसँग सहकार्य गरेर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने आवश्यक छ’, उनले भनिन्।

सेयर बजार अर्थतन्त्र चलायमानका साथै पुँजी जुटाउने बजार भएकाले यसलाई जुवाघरका रुपमा बुझ्न हुने बास्कोटाको भनाइ छ। ‘विश्वभर नै फुल–टाइम व्यवसाय गर्नेदेखि लिएर फुल–टाइम काम गर्नेसम्म सेयरमा लगानी गर्ने गरेको पाइन्छ’, उनी भन्छिन्, ‘त्यसैले अध्ययन–अनुसन्धान गरी विवेकपूर्ण ढंगले लगानी गर्दा सेयर बजार आम्दानीको राम्रो स्रोत बन्न सक्छ।’

‘राजनीतिदेखि सेयर बजार हरेक क्षेत्रमा जोखिम छ तर हामी जोखिम विश्लेषण गरेर जोखिम न्यूनीकरणतर्फ लाग्नुपर्छ’, बास्कोटा भन्छिन्, ‘कम्पनीहरु वित्तीय अवस्था हेरेर लगानी गर्दा राम्रो मुनाफा कमाउन सकिन्छ। त्यसैले सेयर बजारमा लगानी गर्दा कुनै पनि राजनीतिज्ञले राजनीतिलाई नै पेसा बनाउनुपर्दैन।’

अनलाइन ट्रेडिङ सिस्टममा सुधार, रियल टाइम सेटलमेन्ट, बजारमा नयाँ प्रडक्ट थप्ने, इन्साइडर ट्रेडिङजस्ता गतिविधि नियमन गर्दा बजार थप विकास र विस्तार गर्न बास्कोटाको भनाइ छ। ‘नेपालको सेयर बजारमा चासो र जिज्ञासा एड्रेस गर्ने धेरै ठाउँहरु छन्। जसमा महानगरसँग पनि सहकार्य गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिन्छ’, उनले भनिन्।

‘म आफूलाई ट्रेडरभन्दा पनि दीर्घकालीन लगानीकर्ता भन्न रुचाउँछु। मेरो लगानी रणनीति नै वित्तीय अवस्था राम्रो भएको कम्पनीमा दीर्घकालीन लगानी गर्ने हो’, बास्कोटा भन्छिन्, ‘सेयर बजारमा भने विगत ४–५ वर्षदेखि लगानी गर्दै आएकी छु।’