काठमाण्डौ । आसन्न स्थानीय तह निर्वाचनका लागि ध्यानमा राख्दै काठमाण्डौमा यही वैशाख २७ गते मंगलबार मध्यरातबाट मादक पदार्थ बिक्रीवितरण र सेवनमा रोक गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आज एक सूचना जारी गर्दै स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि यही वैशाख २७ गते राति १२ बजेबाट मादक पदार्थ बिक्रीवितरण र सेवामा रोक लगाएको हो। मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्रीवितरण तथा सेवन कार्य नगर्न र नगराउन प्रशासनले निर्देशन गरेको छ। 

स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदैछ। यो दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारीसाधनहरुबाहेक अन्य सवारीसाधन बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म सञ्चालन नगर्न र नगराउन पनि प्रशासनले निर्देशन दिएको छ।

यो निर्देशनविपरीत कार्य तोकिएको अवधिमा गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी पनि दिएको छ।