काठमाण्डौ। देशका ६ महानगरपालिकामध्ये ५ वटामा सत्तारुढ दलका मेयर उम्मेदवारले अग्रता लिएका छन्। काठमाण्डौ महानगरपालिकामा भने स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिइरहेको छ। 

ललितपुर, भरतपुर, वीरगन्ज, पोखरा, र विराटनगर महानगरमा गठबन्धनका मेयर उम्मेदवारले अग्रता लिइरहेका हुन्। एमालेका मेयर उम्मेदवार भने ६ वटै महानगरमा दोस्रो स्थानमा छ। 

काठमाण्डौ महानगरको मेयरमा बालेन साहले अग्रता लिइरहँदा केशव स्थापित दोस्रो स्थानमा छन्। कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन्।

काठमाण्डौको उपप्रमुखमा भने एमालेले अग्रता लिइरहेको छ। एमालेकी सुनिता डंगोल भारी मतान्तरले अगाडि छिन् भने सत्ता गठबन्धनबाट उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजेश्वर श्रेष्ठ दोस्रो स्थानमा छन्। राप्रपाकी विनिता मगैयाले तेस्रो स्थानमा छिन्। 

ललितपुर महानगरमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका चिरिबाबु मर्हजनले अग्रता लिइरहेका छन्। एमालेका हरिकृष्ण व्यञ्जनकार दोस्रो स्थानमा छन्।

महानगरको उपप्रमुखमा भने एमालेकी मञ्जली शाक्यले अग्रता लिइरहेकी छिन्। गठबन्धनबाटै उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य दोस्रो स्थानमा छन्।

भरतपुरमा पनि सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता लिइरहेकी छिन्। एमालेका विजय सुवेदीले पछ्याइरहेका छन्। उपप्रमुखमा पनि गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिइरहेका छन्। एमाले–राप्रपा गठबन्धनबाट राप्रपाकी हिमला गुरुङ दोस्रो स्थानमा छिन्। 

पोखरा महानगरमा पनि सत्ता गठबन्धनबाटै एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले अग्रता लिरहेका छन्। एमालेका कृष्णबहादुर थापा दोस्रो स्थानमा छन्। उपमेयरमा सत्ता गठबन्धनबाट कांग्रेसकी कोपिला रानाभाटले अग्रता लिइरहेकी छन्। एमालेकी मञ्जुदेवी गुरुङ दोस्रो स्थानमा छिन्। 

वीरगन्ज महानगरको मेयरमा गठबन्धनबाट जनता समाजवादी पार्टीका राजेशमान सिंहले अग्रता लिइरहेका छन्। एमालेका विजयकुमार सरावगीले सिंहलाई पछ्याइरहेका छन्। उपमेयरमा कांग्रेसका इम्तियाज आलमले अग्र स्थानमा छन्। लोसपाका पुरुषोत्तमलाल झा दोस्रो स्थानमा छन्। 

विराटनगरमा पनि सत्ता गठबन्धनबाटै मेयरका उम्मेदवार कांग्रेसका नागेश कोइरालाले अग्रता लिइरहेको छ। एमालेका सागरकुमार थापा दोस्रो स्थानमा छन्। 

विराटनगर महानगरमा उपमेयरमा भने एमालेकी शिल्पा कार्कीले अग्रता लिइरहेकी छन्। सत्ता गठबन्धनबाट जनता समाजवादीका अमरेन्द्र यादव दोस्रो स्थानमा छन्।