काठमाण्डौ । स्थानीय तहको निर्वाचनमा एकै परिवारका चार दाजुभाइले प्रमुख पदमा उम्मेदवारी थिएका थिए। तीमध्ये ३ दाजुभाइले जित हासिल गरेका छन् भने एक भाइले हार व्यहोर्नुपरेको छ। 

यसरी स्थानीय चुनावअन्तर्गत फरक–फरक पालिकामा उम्मेदवारी दिनेमा एकैपरिवारका दाजुभाइ राजकुमार रुम्दाली(जेठो), जितेन्द्र रुम्दाली (साइँलो), ज्ञानेन्द्र (काइँलो) र दीपेन्द्र (कान्छो) हुन्। माइलो धीरेन्द्र राजनीतिमा सक्रिय रहे पनि स्थानीय तहमा भने उम्मेदवारी दिएनन्। 

यी दाजुभाइमध्ये राजकुमारले वडाअध्यक्ष तथा जीतेन्द्र र ज्ञानेन्द्रले गाउँपालिका अध्यक्षमा विजयी हासिल गरेका छन्। कान्छो भाइ दीपेन्द्रले भने उपाध्यक्ष पदमा हारेका छन्। 

जीतेन्द्रले धनकुटाको साँगुरीगढी गाउँपालिका र ज्ञानेन्द्रले ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्षमा विजयी भएका छन्। 

गठबन्धनका तर्फबाट साँगुरीगढी गाउँपालिकामा कांग्रेसबाट उम्मेदवारी दिएका जीतेन्द्रले ५ हजार ३९९ मतका विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुमारजंग याखाले ४ हजार ८२८ मत प्राप्त छन्।

उता ज्ञानेन्द्र कांग्रेसको सर्मथनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले एमालेका रुपलाल तामाङलाई १ हजार २०६ मतान्तरले जितेका छन्। ज्ञानेन्द्रले ५ हजार २१ मत ल्याउँदा एमालेका तामाङले ३ हजार ८१५ मत प्राप्त गरेका छन्। 

यसैगरी जेठा दाजु राजकुमार पनि मानेभन्ज्याङ गाउँपालिका १ को वडाध्यक्षमा विजयी भएका छन्। उनले कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका थिए। 

कान्छो भाइ दीपेन्द्रले मानेभन्ज्याङ गाउँपालिकाको उपाध्यक्षमा हार व्यहोर्नुपरेको छ। जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवारी दिएका दीपेन्द्रले २ हजार ७७७ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा विजयी हासिल गर्ने कांग्रेसकी आश्राचन राईले ४ हजार ७५० मत प्राप्त गरेकी छन्।