– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समितिले एप्लिकेसन प्रोग्राम इन्टरफेस (एपीआई) पोलिसी संशोधनसहित पारित गरेको छ। सेबोनले उक्त पोलिसी कार्यान्वयनका लागि नेप्सेमा पठाएको छ।

नेप्सेका एक उच्च अधिकारी अनुसार सेबोनले पठाएको पोलिसी नेप्सेले कार्यविधि बनेपछि केही दिनमा कार्यान्वयनमा आउनेछ।  सेबोनबाट एपीआई पोलिसी पारित भएसँगै ब्रोकरका साथै अन्य कम्पनीहरुलाई कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन गर्ने बाटो खुलेको छ।

लामो समयसम्म सेबोनबाट पारित हुन नसकेको एपीआई पोलिसी अध्यक्षमा रमेशकुमार हमालको नियुक्ति भएसँगै पारित भएको हो। हमाल यो एपीआई पोलिसी अहिलेसम्मकै उत्कृष्ट रहेको दाबी गर्छन्। 

आफ्नै टीएमएस ल्याउन सञ्चालनमा रहेका ५० वटा ब्रोकरले २०७७ असोज ११ गते कम्पनी रजिस्ट्रार कार्यालयमा ‘क्याप टेक नेपाल’ कम्पनी दर्ता गराएका थिए। ब्रोकरहरुले अहिले सञ्चालनमा भएको टीएमएसमा समय–समयमा समस्या आउने गरेकाले क्याप टेक नेपालमार्फत टीएमएस सञ्चालन गर्न विकल्पका रुपमा नयाँ कम्पनी स्थापना गरेका हुन्। 

नयाँ टीएमएस गत वर्ष साउनबाट नै सञ्चालनमा ल्याइने भनिए पनि सेबोनबाट समयमै एपीआई पोलिसी पारित सञ्चालनमा आएको थिएन।

क्याप टेक नेपालका अध्यक्ष टंक गौतम ‘क्याप टेक नेपाल’ मार्फत ब्रोकरले भारतका साथै दक्षिण एसियाली मुलुक तथा युरोपका विभिन्न मुलुकमा ब्रोकरहरुले चलाइरहेको टिएमएस सिस्टम सञ्चालनमा ल्याउने तयारी भएको बताए। ‘हामीले गत साउनबाटै क्याप टेकमार्फत नयाँ टीएमएस सञ्चालनमा ल्याउने भनेका थियौँ’, गौतम भन्छन्, ‘तर, सेबोनबाट समयमै एपीआई पोलिसी पास नहुँदा सञ्चालनमा ल्याउन सकेनौँ। अब बोर्डबाट एपीआई पोलिसी पारित भएकाले नेप्सेले कार्यान्वयनमा ल्याएसँगै नयाँ टीएमएस सञ्चालनको आवश्यक प्रक्रिया अघि बढ्छ।’

अहिले सञ्चालनमा भएको सिस्टमका समस्याहरु एड्रेस गर्नका लागि नै ब्रोकरका साथै आईटी कम्पनीहरुसँग सहकार्य गरी नयाँ टीएमएस ल्याउने प्रक्रिया अघि बढेको हो। ‘अन्य मुलुकमा सञ्चालनमा भएको सिस्टम भएकाले अहिले सञ्चालनमा भएको टीएमएसभन्दा नयाँ टीएमएसमा फरक र अतिरिक्त सुविधा छन्’, गौतमले भने। 

‘पुँजीबजारलाई योगदान गर्नुका साथै अहिले भएका समस्या समाधान गर्नु नै नयाँ टीएमएस सञ्चालनमा ल्याउनुको मुख्य उद्देश्य रहेको छ’, गौतम भन्छन्, ‘त्यसैले हाम्रो मुख्य उद्देश्य पैसा कमाउनेभन्दा पनि लगानीकर्तालाई गुणस्तरीय सेवा दिने नै हो।’

अहिले चुक्तापुँजी १० करोड रुपैयाँ भएको क्याप टेक नेपालको चुक्तापुँजी २५ करोड रुपैयाँ बनाउने योजनासमेत रहेको गौतम बताउँछन्। ‘अन्तर्रास्ट्रियस्तरको उक्त सिस्टममा सर्ट सेलिङ, फरेक्स, डेरिभेटिभ मार्केटलगायतको अप्सन पनि छ’, गौतम भन्छन्, ‘उक्त विषयमा नियामक निकायले अनुमति दिएको खण्डमा लगानीकर्ताले उक्त सुविधा पनि टीएमएसबाट पाउने छन्।’