काठमाण्डौ । महिनौँपछि नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर कारोबार खुले पनि लगानीकर्ताहरुलाई भने पीडामाथि पीडा थपिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले करिब एक वर्षअघिदेखि मर्जर प्रयोजनका लागि नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको सेयर कारोबार रोक्का राखेको थियो। यी दुवै बैंकबीच २०७८ वैशाख २० गते मर्जर सम्झौता भएको थियो। तर, केही महिनापछि नै मर्जर भाँडियो तर दुवै बैंकको सेयर कारोबार भने रोक्का नै रह्यो। 

लामो समयदेखि सेयर कारोबार रोक्का रहेपछि इन्भेस्टमेन्ट बैंकले सेयर कारोबार खुलाउन नियामक निकायसँग पहल गरेको थियो। बैंकको आग्रहमा नेपाल राष्ट्र बैंकले नेप्सेलाई इन्भेस्टमेन्ट बैंकको सेयर कारोबार फुकुवा गर्न निर्देशन दिएको थियो। 

हाललाई राष्ट्र बैंकको निर्देशमा नेप्सेले नेपाल इन्भेस्टमेन्ट बैंकका आधारभूत सेयरधनीहरुबाहेकका सेयर कारोबार फुकुवा गरेको छ। 

नेप्सेले कारोबार फुकुवा गरेसँगै आजबाट इन्भेस्टमेन्ट बैंकको सेयर किनबेच भइरहेको छ। यद्यपि यो समाचार तयार पर्दासम्म बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ। 

एकातिर लामो समयसम्म कारोबार नखुल्दा सर्वसाधारण लगानीकर्ताको लगानी बन्धकमा परेको थियो । त्यसपछि महिनौपछि कारोबार खुलेको पहिलो दिन नै नकारात्मक सर्किट लागेपछि इन्भेष्टमेन्ट बैंकका लगानीकर्तालाई पीडामाथि पीडा थपिएको हो।

केही स्रोतहरुले भने मेगा बैंकसँग मर्जर छलफलमा रहेको इन्भेष्टमेन्ट बैंकको मूल्य सुनियोजित घटाउन खोजिएको दाबी पनि गरेका छन्। इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य घटाएर मेगा बैंकसँगको मर्जर छलफलमा सेयर स्वाप रेसियो मिलाउने दाउसमेत हुनसक्ने कतिपयको बुझाई छ। 

इन्भेस्टमेन्ट बैंकसँग मेगा बैंकले गरेको मर्जरको प्रारम्भिक छलफलमा ९० को हाराहारीमा स्वाप दिन इन्भेस्टमेन्ट तयार देखिएको छ। तर, मेगाले समान हैसियत मागिरहेको छ। दोस्रो बजार मूल्यबाटै समान हैसियत कायम हुने गरी कतैबाट चलखेलसमेत हुनसक्ने कतिपयको दाबी छ।