काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिम प्रदेशको विकासका लागि सरोकारवालाहरुले प्रधानमन्त्री देउवालाई दबाब बढाएका छन्।
सुदूरपश्चिम सरोकार मञ्चले आइतबार काठमाण्डौमा आयोजना गरेको ११औँ साधारणसभाका वक्ताहरुले सुदूरपश्चिम प्रदेशको विकासलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री देउवालाई झक्झकाएका हुन्। कार्यक्रममा प्रधानमन्त्री देउवालाई मञ्चका तर्फबाट अध्यक्ष विष्णुप्रसाद खत्रीले सुदूरपश्चिम प्रदेशको विकास तथा समृद्धिका लागि सुझावसहितको ज्ञापनपत्र बुझाए।
सुदूरपश्चिम प्रदेशका विगत १६ वर्षदेखि सुप क्षेत्रको विकासका लागि विभिन्न प्रयास गर्दै आइरहेको छ। मञ्चले सुदूरपश्चिम प्रदेशको सर्वाङ्गीण विकासका लागि निःस्वार्थ भावले मातृभूमिप्रति आफ्नो कर्तव्य बहन गर्दै समग्र प्रदेशको विकासका लागि आवश्यक मार्गचित्र पुस्तक प्रकाशन गरेको छ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले तीनै तहका सरकारको सहकार्यमा पछि परेका प्रदेशहरुको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध रहेको बताए। उनले मञ्चका हरेक प्रयास तथा सुझावहरु संघीय सरकार र प्रदेश सरकारलाई विकास योजना तर्जुमा, कार्यान्वयन र मूल्यांकनमा सहयोगी बन्ने विश्वास गरे।
प्रधानमन्त्री देउवाले आफूले डोटीको उच्चकोट विद्यालयबाट एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययनका लागि धनगढीसम्म पैदल यात्रा गरी सीमानाका पारि भारतको रेल चढेर रक्सौल हुँदै गाडी चढेर काठमाण्डौ पुगेको स्मरण गरे। उनले भने, ‘पहिलेको तुलनामा सुपमा धेरै विकास भएको छ। सुप केन्द्रीय राजधानीसँग यातायातले जोडिएको छ। तर पनि धेरै सम्भावनाका बाबजुद अपेक्षाकृत विकास हुन सकेको छैन। पश्चिम सेती बनेमा यो प्रदेश विकसित र धनी बन्न सक्छ।’
यस क्षेत्रको गरिबी र असमानता हटाउन सरकारका प्रयाससँगै सबैको योगदान आवश्यक रहेको उल्लेख गर्दै देउवाले सुपको विकासका लागि कोसेढुंगा साबित हुने कञ्चनपुर सीमामा सुक्खा बन्दरगाह बनाउन भारतसँग सहमति भएको जानकारी दिए। सुदूरपश्चिम प्रदेश मानव विकासको सूचाकाङ्कमा अगाडि आउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले यसका लागि सबैले आ–आफ्नो ठाउँबाट समन्वय र सहकार्य गर्न जरुरी रहेको बताए।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिमको सर्वांगिण विकास गरी यस क्षेत्रलाई सुन्दर बनाउन सबैले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने आवश्यकता रहेको बताए। कञ्चनपुरको सिमानामा बन्ने सुक्खा बन्दरगाहको महत्वका बारेमा जानकारी गराउँदै उनले यसले यसले व्यापारमा सुविधा बढाउने र लागत घटाउने बताए।
कार्यक्रममा पूर्वउपप्रधानमन्त्री भीम रावलले अहिलेको बजेटमा धार्मिक र पुरातात्विक महत्वका गन्तव्यलाई पर्यटनसँग जोड्ने राम्रा कार्यक्रम भए पनि सुदूरपश्चिम प्रदेशका त्यस्ता क्षेत्रलाई उचित मात्रामा उल्लेख नगरिनु दुःखद भएको बताए। उनले त्यस्ता कार्यक्रममा विशेषगरी खप्तड क्षेत्र छुटेको उल्लेख गर्दै बजेटमा समेट्न सरकारसँग आग्रह गरे।
पछाडि परेका सुदूरपश्चिम र कर्णाली प्रदेशको विकास र समृद्धिका लागि पश्चिम सेती र माथिल्लो कर्णाली जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउनुपर्ने बताउँदै विकास निर्माणका हरेक कार्य पूर्वबाट प्रारम्भ हुने गरेकामा आगामी दिनमा सुदूरपश्चिमबाट प्रारम्भ गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा पूर्वमन्त्री गणेश ठगुन्ना, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, मञ्चका संस्थापक अध्यक्ष एवं नेपाल प्रहरीका पूर्व आइजिपी मोतिलाल बोहरा, मञ्चका अध्यक्ष विष्णुप्रसाद खत्रीलगायतले सुदूरपश्चिमको अवस्थाबारे चित्रण गर्दै विकासका लागि आफ्ना सुझाव दिएका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago