काठमाण्डौ । सेयर लगानीकर्ताहरुको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । 

भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्ज अगाडि आज दिउँसो ३ बजे प्रदर्शन गर्न कालोपट्टि बाँधेर पुगेका लगानीकर्ताहरुलाई प्रहरीले हस्तक्षेप गरी धरपकड समेत गरेको हो । 

प्रहरीले आन्दोलनमा सरिक सक्रिय लगानीकर्ता तिलक कोइरालासहित ५ जनालाई पक्राउ गरेको छ । 

प्रहरीले कोइरालासहित लगानीकर्ताहरु नवराज उप्रेती, सीताराम सञ्जेल, नानीबाबु खरेल र पासाङ शेर्पालाई पक्राउ गरेको हो । 

हाल पक्राउ परेका सबैलाई सिंहदरबार वडा प्रहरी कार्यालयमा राखिएको छ । 

लगानीकर्ताहरु कालोपट्टि बाँधेर सो क्षेत्रमा पूर्व निर्धारित कार्यक्रमअनुसार प्रदर्शन गर्न पुगेका थिए । प्रहरीले नेप्से अगाडि प्रदर्शन गर्न नपाइने, प्रदर्शन नै गर्नुपर्ने हो भने माइतीघरमा जान भने पनि लगानीकर्ताहरुले प्रदर्शनलाई जारी राखेका थिए । आफ्नो कुरा लगानीकर्ताले नमानेपछि प्रहरीले धरपकड गरेको हो । 

लगानीकर्ताहरुले विभिन्न १९ बुँदा माग राखी हिजोदेखि आन्दोलन थालेका थिए । हिजो खुमलटारस्थित नेपाल धितोपत्र बोर्डमा प्रदर्शन गरी ज्ञापनपत्र बुझाएका थिए । आज नेप्सेमा समेत विरोध प्रदर्शनपछि ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । 

प्रहरीले धरपकड गरेपछि लगानीकर्ताहरुको समूह थप प्रदर्शन गर्न भन्दै अहिले माइतीघरतर्फ लागेको छ ।