काठमाण्डौ । पुँजीबजारको सुधार र विकासको माग राख्दै लगानीकर्ताले चौथो दिन बिहीबार पनि आन्दोलनलाई निरन्तरता दिएका छन्।
पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा आज पनि लगानीकर्ताहरुले माइतीघर मण्डलामा भेला भएर आन्दोलन जारी राखेका हुन्। भेलामा विभिन्न लगानीकर्ता संघसंगठनका नेताहरुको उपस्थिति थियो। उनीहरुले पुँजीबजारविरोधी नीतिगत व्यवस्थाको चर्को आलोचना गरेका थिए।
भेट्रान लगानीकर्ता एवं नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिका पौडेलले नियामक निकाय र सरकारले यसअघि पुँजीबजारका विषयमा बोलेका कुरा कार्यान्वयन नगर्दा आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताए। ‘हामी बजार घट्यो भनेर आन्दोलनमा होमिएका होइनौँ, नियामक र सरकारका कारण बाध्य भएर सडकमा आउनु परेको हो’, उनले भने।
नेप्से ११००, ३२०० र २०० हुँदा पनि आफूहरु पुँजीबजार सुधारका लागि आवाज उठाउँदै आएको पौडेलले बताए। ‘तर, हाम्रा आवाज सुनिएन’, उनले भने, ‘पुँजीबजार धरासायी हुँदा गठन भएको समितिले दिएको सुझाव पनि नियामक निकायहरुले कार्यान्वयन गरेनन्।’
नीतिमा स्थिरताका साथै टीएमएस, एपीआई, प्रविधिमा सुधार, बैंकलाई ब्रोकर लाइन्सेन्सलगायतका माग पटक–पटक उठाउँदै आएको पौडेलले बताए। ‘तर, नियामकका खराब नीतिको सिकार लगानीकर्ता हुँदै आएका छन्’, उनले भने।
‘मैले मेरो सम्पत्ति धितो राखेर कर्जा राख्न पाउने ?’, प्रश्न गर्दै पौडेलले भने, ‘पुँजीबजार लोन नपाउने अवैध क्षेत्र हो ? जब कि अर्बौंको राजस्व पुँजीबजारबाटै संकलन भएको छ।’
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले पुँजीबजार सुधारका लागि गठित सुझाव समितिमा लगानीकर्तालाई समेट्न नसकेकोप्रति सरकारको आलोचना गरे। ‘झारो टार्ने काम भयो’, उनले भने, ‘अब फेरि सडकमा उत्रिनु नपर्ने गरी यो आन्दोलनलाई निर्णायक बनाऔँ।’
यो आन्दोलन बजार घट्यो भनेर नगरिएको ढकालले बताए। ‘मार्केट घट्यो भनेर आन्दोलन गरिएको होइन’, उनले भने, ‘अस्थिर नीतिविरुद्ध यो आन्दोलन गर्न बाध्य भएका हौँ।
लगानीकर्ताले भेट्न खोज्न गभर्नर समय नदिएकोमा ढकालले आपत्ति प्रकट गरे। ‘पटकपटक भेट्न जाँदा किन समय दिइँदैन ?’, प्रश्न गर्दै उनले भने, ‘अब हाम्रा सम्पूर्ण माग पूरा हुन्छ भने मात्रै नियामकलाई भेट्न जान्छौँ।’
सेयर लगानीकर्ता संघका तारा फुल्लेलले सुझाव समितिमा लगानीकर्ताका प्रतिनिधि नपर्नुले राम्रो नतिजा आउनेमा आश गर्न नसकिने बताए। ‘अर्थमन्त्र्री बजार घट्दा आनन्द आएको होला’, उनले भने, ‘लगानीकर्ताको समस्या सम्बोधन गरेको भए आज यो अवस्था आउने थिएन।’
गत सोमबारबाट संघर्ष समितिको अगुवाइमा लगानीकर्ताले पुँजीबजार सुधार र विकासका लागि १९ बुँदे माग अघि सार्दै आन्दोलनरत छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19