काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा अब हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) का संस्थापक र सर्वसाधारण समूहको सेयर फरक–फरक संकेतमा कारोबार हुने भएको छ।
यसअघि नेप्सेमा एचआईडीसीएलका सवै समूहको सेयर एउटा संकेतमा कारोबार हुँदै आएको थियो। कम्पनीको प्रबन्धपत्रमा रहेको व्यवस्थाअनुसार सेयर खरिदबिक्रीको व्यवस्थापन र अभिखेलीकरण सहज बनाउने उद्देश्यले कम्पनीका संस्थापक (समूह क) तथा सर्वसाधारण (समूह ख)का सेयरधनीको फरक–फरक आईएसआईएन र संकेत कायम गरिएको कम्पनीले जनाएको छ।
कम्पनीको अनुरोधमा सीडीएससीले एचआईडीसीएलको संस्थापक समूहको सेयर कारोबार गर्न आईएसआईएन ‘एनपीई२८१ए४०००९’ र कारोबार संकेत ‘एचआईडीसीएलपी’ प्रदान गरेको छ।
त्यस्तै एचआईडीसीएलको सर्वसाधारण समूहको सेयर कारोबार गर्न सीडीएससीले ‘एनपीई२८१ए४०००३’ र कारोबार संकेत ‘एचआईडीसीएल’ प्रदान गरेको छ।
यी यिनै फरक–फरक संकेतमा एचआईडीसीएलको संस्थापक र सर्वसाधारण समूहको सेयर कारोबारमा आउनेछ।
यसैबीच कुन समूहमा कसरी कारोबार हुन्छ भन्ने विवादका कारण स्थगित गरिएको एचआईडीसीएलको संस्थापक समूहतर्फको ३ करोड ३० लाख कित्ता अवितरित हकप्रद सेयरको बिक्री प्रक्रिया फेरि सुरु गरिएको छ।
कम्पनीले आउँदो असार ५ गतेबाट उक्त अवितरित हकप्रद सेयर बिक्री खुलाउने भएको हो। यो सेयर नेप्सेमा ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार हुनेछ। यो सेयर समूह ‘क’को उपसमूह ‘क–२’ अन्तर्गत ‘अन्य संस्थापक’ उपसमूहमा रहने कम्पनीले जनाएको छ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ कायम गरिएको छ। बोलपत्र पेस गर्दा लगानीकर्ताहरुले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतमा १० ले भाग जाने संख्यामा खरिद आवेदन पेस गर्न सकिनेछ। यो सेयरमा इच्छुक जोकोही व्यक्ति, संस्था वा कम्पनीले खरिद आवेदन पेस गर्न सक्नेछन्।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडको काठमाण्डौको नक्सालस्थित कार्यालय वा ग्लोबल आईएमई बैंकका शाखाहरु बिर्तामोड, हुनमानदास रोड (विराटनगर), जनकपुर, आदर्शनगर (वीरगन्ज), हेटौँडा, नारायणगढ, न्युरोड (पोखरा), बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा पनि पेस गर्न सकिनेछ।
बोलपत्र आउँदो असार १९ गते बैंकिङ समयसम्म पेस गर्न सकिनेछ।
गत वर्ष साउन ५ गतेदेखि भदौ ८ गतेसम्म एचआईडीसीएलले हकप्रद बिक्री गरेको थियो। सोही हकप्रदमा बिक्री हुन नसकेको संस्थापक समूहको सेयर अहिले बिक्री गर्न लागेको हो।
यसअघि यो अवितरित हकप्रद सेयर गत वर्ष फागुन १ गतेबाट फागुन १५ गतेसम्म बिक्रीमा राखिए पनि कुन समूहमा कसरी हुन्छ भन्नेमा विवाद हुँदा बिक्री प्रक्रिया स्थगित गरिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago