– रेखा चन्द

काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले सेयर बजार सुधार र विकासका लागि आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुको माग सरकारले अविलम्ब पूरा गर्नुपर्ने बताएका छन्।

आज खुमलटारस्थित नेपाल धितोपत्र बोर्डबाहिर आमरण अनशनमा बसेका पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालालाई भेट्न पुगेका नेता महतोले सरकारले आफैँले कार्यान्वयन गर्ने सहमति गरिसकेका मागहरु पूरा गर्न ढिलाइ गर्न नहुने बताए। 

‘अहिलेका मागहरु नयाँ होइनन्, यी विगतमा उठेका ५८ बुँदेमा पूरा हुन बाँकी हुन्’, उनले भने, ‘५८ बुँदेमा केही माग पूरा भए, बाँकी माग पनि कार्यान्वयन गर्ने सरकारले प्रतिबद्धता गरेको थियो। तर अहिलेसम्म पूरा नहुनु दुःखद् कुरा हो।’

हाल पुँजीबजारमा ५० लाखभन्दा बढी मानिस लागेको उल्लेख गर्दै महतोले हाल लाखौँको मानिस सेयर बजारमा आश्रित रहेको बताए। 

‘सरकारले नै कार्यान्वयन गर्छु भनेका माग पूरा गराउन यसरी आमरण अनशन बस्नुपरेको छ, अनशनकारी अवस्था जोखिममा छ तर सरकार चुपचाप बसेको छ’, उनले भने, ‘यो सरकारको गैरजिम्मेवारपन भयो। म मेरो पार्टीका तर्फबाट सरकारले लगानीकर्ताहरुले उठाएका मागहरु तत्काल पूरा गर्न आग्रह गर्छु।’