काठमाण्डौ । उपत्यकाबाहिर थप १६ स्थानमा ब्रोकर कम्पनीका शाखाहरु खुल्ने भएका छन्। 

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न १० ब्रोकर कम्पनीहरुलाई शाखा विस्तारका लागि अनुमति दिन लागेको हो। करिब २ वर्षपछि सेबोनले उपत्यकाबाहिर ब्रोकर कम्पनीहरुलाई शाखा विस्तारका लागि अनुमति दिने तयारी गरेको हो। 

शाखा कार्यालय विस्तारको सैद्धान्तिक स्वीकृति पाएर पूर्वाधार तयारीको निर्देशन पाएका ब्रोकर कम्पनीहरुलाई शाखा विस्तारको अन्तिम स्वीकृत दिने तयारीमा सेबोन रहेको छ। 

सेबोनले दीपशिखा धितोपत्र कारोबार कम्पनी, मल्ल एन्ड मल्ल स्टक ब्रोकरिङ, नेपाल स्टक हाउस, आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज, डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज, भिजन, जेएफ, दिव्या, अनलाइन, अक्सफोर्ड, त्रिशूल र सेक्युर्ड सेक्युरिटिजलाई शाखा विस्तारको अनुमति दिन लागेको हो।

यीमध्ये भिजनले तनहुँको दमौली, म्याग्दीको बेनी र नवलपरासीको कावासोती गरी ३ स्थानमा शाखा विस्तार गर्नेछ।

त्यस्तै अनलाइन सेक्युरिटिजले मोरङको उर्लाबारी, महोत्तरीको बर्दिबास, रामेछापको मन्थली र नुवाकोटको बट्टराईमा शाखा सञ्चालनमा ल्याउनेछ। 

दीपशिखाले पनि चितवनको टाँडी, दोलखाको चरिकोट, सिरहाको लहान र कैलालीको लम्कीमा शाखा विस्तार गर्नेछ। 

नेपाल स्टक हाउसले नुवाकोट विदुर र कैलालीको टीकापुर, मल्ल एन्ड मल्लले पाँचथर फिदिम र इलामको इलाममा, डाइनामिकले चितवनको भरतपुर, जेएफले दाङको तुलसीपुर, दिव्याले पर्वतको कुस्मा, अक्सफोर्डले नवलपुरको भुमही, सेक्युर्डले झापाको दमक र आर्यताराले पाल्पाको तानसेन र रुपन्देहीको भैरहवामा शाखा सञ्चालन गर्नेछन्। 

चालु आवमा उपत्यकाबाहिर हाल ४ कम्पनीका ७ वटा शाखा सञ्चालनमा आइसकेका छन्।

ब्रोकर सञ्चालन गर्न लागेको शाखा कार्यालयको पूर्वाधार सेबोनले निरीक्षण गर्ने क्रम सुरु गरेको छ। ती काम सकिएपछि शाखाहरु सञ्चालनमा आउनेछन्। 

हालसम्म उपत्यकाबाहिर ४१ ब्रोकर कम्पनीका ४७ वटा शाखा सञ्चालनमा आइसकेका छन्। करिब २ वर्षअघि ब्रोकर कम्पनीहरुले सातै प्रदेशका करिब २०० स्थानमा शाखा विस्तार गर्न सेबोनमा आवेदन दिएका थिए।