काठमाण्डौ । नेपाल राष्ट्रबैंकले तोकेको समयसीमा नजिकै आएपछि बैंक तथा बित्तीय संस्थाहरु पुँजीवृद्धिको चरम चटारोबाट गुज्रिरहेका छन् । यही चटारोको कारण हकप्रदको स्वीकृति पाउने र पाइपलाइनमा रहने कम्पनीको संख्या बढिरहेको छ ।

धितोपत्र बोर्डले सप्तकोशी डेभलपमेन्ट बैंक, रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्था र लुम्बिनी जनरल इन्स्योरेन्सलाई हकप्रद निश्कासनको स्वीकृति दिएको छ भने सेञ्चुरी कमर्सियल बैंकको हकप्रद प्रस्ताव बोर्डको पाइपलाइनमा समेटिएको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकले १३० प्रतिशत, रिलायवलले ५० प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्सले १०० प्रतिशत हकप्रद निश्कासनको स्वीकृति पाएका हुन् ।

सप्तकोसी डेभलपमेन्ट बैंकको हाल चुक्तापुँजी २१ करोड १० लाख रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्तापुँजी ४८ करोड ५३ लाखको उचाईमा पुग्नेछ । यो कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

यस्तै, रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्थाले ५० प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापुँजी ८ करोड ४७ लाख रुपैयाँको उचाईमा पुग्नेछ । रिलायवलको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमीटेड रहेको छ ।

यसैगरी, लुम्बिनी जनरल इन्स्योरेन्सले १ सय प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापुँजी ७८ करोडको उचाईमा पुग्नेछ । यो कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा सिबीआइएल क्यापिटल लिमीटेड रहेको छ ।

यसैबीच, सेञ्चुरी कमर्सियल बैंक लिमीटेड पनि ४० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुगेको छ । यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल १ करोड ८८ लाखको सेयर निश्कासनको माग गरेको हो । इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभपलमेन्ट बैंक प्राप्तिपछि कायम चुक्तापुँजीको ४० प्रतिशतको दरले हकप्रद निश्कासनको माग गरिएको हो । हाल यो बैंकको चुक्तापुँजी ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि  चुक्तापुँजी ६ अर्ब ५९ करोडको उचाईमा पुग्नेछ ।