– अनन्त्य सुन्दर
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७८-७९ को सुरुआतमा सेयर बजार परिसूचक नेप्सेका साथै कारोबार रकमले पनि उच्चतम विन्दु छोएको थियो।
भदौ ३ मा नेप्से अहिलेसम्मको नै उच्चतम विन्दु ३१९८.६० चुम्न सफल भएको थियो। यही आर्थिक वर्षमा कारोबार रकम पनि झन्डै २२ अर्ब पुगेको थियो।
चालु आवको सुरुवाती महिनामा सेयर बजार सुखद रहे पनि नीतिगत कारणहरुले गर्दा लगानीकर्ताहरुलाई पीडादायी बन्न गएको लगानीकर्ताका अगुवाहरु बत्ताउँछन्।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले राष्ट्र बैंकको गलत नीतिहरुले गर्दा यस आर्थिक वर्ष पुँजीबजारका लागि सोचे भन्दा पनि पीडादायी भएको बताए। ‘पुँजीबजार हुने उतारचढाव नै यसको सुन्दरता हो। तर, नीतिको कारण गरिएको प्रहारका कारण पुँजी बजारमा भएको असर असय छ’, उनले भने।
‘पुँजीबजारको विकास देख्न नसक्ने वर्गका कारण लगानीकर्ताहरु यस आर्थिक वर्ष दुखको साथ बस्नु परेको छ’, ढकाल भन्छन्, ‘अबको आर्थिक वर्ष नीतिको कारण कोही लगानीकर्ता मर्नु नपरोस्, सडकमा आउनु नपरोस्, विदेश पलायन हुनु नपरोस्। त्यसैले आव २०७९–८० नियामकहरुले नीतिका कारणले लगाम नलगाउने नीतिले प्रहार नगर्ने हो भने पुँजी बजारको भविष्य सुनौलो छ।’
‘हामी निर्वाचनको संघारमा छौँ, त्यसका साथै बजार प्रविधिमैत्री भइसकेकाले पुँजी बजारको भविष्य सुनौलो छ’, ढकालले भने।
खर्बौँका ठूलठूला आयोजनामा लगानीकर्ताहरु लगानी गर्न तयार रहेको ढकालले बताए। ‘राज्यले ती प्रोजेक्टहरु बनाउनलाई डलरमा ऋण लिन आवश्यक छैन’, ढकाल भन्छन्, ‘तर, राज्यले लगानीमैत्री नीति ल्याएर लगानी गर्न वातावरण सिर्जना गर्न आवश्यक छ।’
नयाँ स्टक एक्सचेन्ज पनि आवश्यक रहेकोमा जोड दिँदै ढकाल भन्छन्, ‘नीति बनाउँदा कम्तीमा ५ वर्षसम्मको लागि स्थिर नीति ल्याउन आवश्यक छ। माथि उल्लेखित कुराहरु गर्दामात्र समेटिने हो भने आगामी दिन नेपाली पुँजी बजारको लागि सुनौलो छ।’
सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला भदौ महिनामा सेयर बजार अलटाइम हाई भए पनि नियामक निकायको गलत नीति साथै नेपाल राष्ट्र बैंकको बजारप्रति हेर्न दृष्टिकोण गर्दा सुखद नभएको बताए। ‘राष्ट्र बैंकको ४–१२ को नीतिका साथै नेपाल धितोपत्र बोर्ड (सेबोन) को ५१ वटा कम्पनीको लिस्ट लगानीकर्ता हतोत्साहित भएका कारण बजार यस आर्थिक वर्ष उत्साहजनक भएन’, उनले भने।
‘सडकदेखि सदनसम्म सेयर बजारका विषयमा कुराहरु उठेका छन्। त्यसैले नेपाली सेयर बजारलाई जुन कुराले बजारलाई असर गरेको छ उक्त विषयहरु धितोपत्र बोर्डको नीति तथा कार्यक्रम साथै राष्ट्र बैंकमार्फत सच्चाइन्छ भन्ने आशा छ’, बास्तोला भन्छन्, ‘आव २०७९–८० मा आउने नीतिहरु आम लगानीकर्ताको भावना बुझी लगानीकर्ताहरुले उठाउँदै आएका मागहरु सम्बोधन गरी नीति आउनेमा हामी आशावादी छौँ।’
नीतिहरु ल्याउँदा लगानीकर्ता साथै सम्बन्धित सरोकारवालाहरुसँग विस्तृत छलफल गरेर स्थिर नीति मात्र ल्याउनुपर्ने बास्तोला बताउँछन्। ‘४–१२, मार्जिनलगायतका नीतिहरुले गर्दा अहिले नयाँ साथै साना लगानीकर्ताहरुलाई असर गरेको छ। त्यसैले आउने आर्थिक वर्षदेखि कुनै पनि नीति ल्याउँदा ५ वर्षसम्मका लागि स्थिर नीति ल्याउनुपर्छ’, उनले भने।
बास्तोलाले आगामी आव नयाँ सेयर ब्रोकर लाइसेन्स वितरण गरी सेयर ब्रोकरहरुको सिन्डिकेट तोडिनुपर्नेमा समेत जोड बताए।
स्वतन्त्र पुँजी बजार संघका अध्यक्ष रोहन कार्की अहिलेको आर्थिक वर्ष लगानीकर्ताहरुका लागि पीडादायी भए पनि आगामी आर्थिक वर्ष सुखद रहने अपेक्षा रहेको बताउँछन्। ‘यस आर्थिक वर्षको सुरुआतमा राम्रै हुँदा पनि राष्ट्र बैंकले बजारमैत्री नीति नल्याउँदा उच्चतम विन्दुमा पुगेको सेयर बजारमा एकाएक असर गर्न पुग्यो। झन्डै २२ अर्ब सम्म कारोबार भएको बजारमा अहिले मुस्किलले २ अर्ब कारोबार हुने गरेको छ’, कार्की भन्छन्, ‘राष्ट्र बैंकको नीतिको कारण नै लगानीकर्ताहरु सडकमा आउन बाध्य भए।’
‘सरकार, नियामक निकाय, राजनीतिक दलका साथै राष्ट्र बैंक पनि अहिले बजार प्रति सकारात्मक भएको बुझिन्छ। बोर्डका अध्यक्ष रमेशकुमार हमाल पनि लगानीकर्ताहरुसँग भएको १९ बुँदे सहमति कार्यान्वयन गर्छु भनी लाग्नु भएको छ। त्यसैले पुँजी बजारका लागि आगामी दिन राम्रो हुने अपेक्षा छ’, उनले भने।
‘बजार अहिले तल्लो बिन्दुमा भएकाले लगानीकर्ताहरुको पनि लगानी गर्ने मनोविज्ञान भएको बुझिन्छ’, कार्की भन्छन्, ‘सीडी रेसियो ८६ प्रतिशत हाराहारी भएकाले तरलता पनि सहज भएको देखिन्छ। त्यसैले आउने आर्थिक वर्ष समग्र पुँजीबजारका लागि राम्रो हुने अपेक्षा गरेका छौँ।’
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago