– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपालमा सञ्चालनमा रहेका ५० वटै ब्रोकर कम्पनीका प्रतिनिधिहरु भारत भ्रमणमा जाने भएका छन्। 

भारतीय ब्रोकरहरुको सञ्चालन प्रक्रिया र उनीहरुले दिँदै आएका सेवासुविधाबारे अध्ययन गर्न ब्रोकर कम्पनीका प्रतिनिधिहरु भारत जाने भएको हुन्। उनीहरु आउँदा सेप्टेम्बर ५ मा भारत जाने छन्।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले ५० वटै ब्रोकरका प्रतिनिधिहरु ५ दिनका लागि भारतमा सञ्चालनमा रहेका ब्रोकरहरूबारे अध्ययनका लागि सेप्टेम्बर ५ मा भारत जाने तय भएको बताए। ‘अहिले नेपाली बजारमा विभिन्न फोरममा डेरिभेटिभलगायत विभिन्न प्रडक्ट सञ्चालनमा ल्याउनेबारे छलफलका साथै अन्तर्क्रिया भइरहेको छ’, मैनाली भन्छन्, ‘त्यसैले भारतमा डेरिभेटिभलगायत अन्य विभिन्न वित्तीय प्रडक्ट कसरी सञ्चालन भइरहेको छ भनेर अध्ययन गर्ने नै हाम्रो भिजिटको मुख्य उद्देश्य रहेको छ।’

ब्रोकरहरुले ब्रोकर सञ्चालनका लागि लाइसेन्स पाउने सुरुआती प्रक्रियादेखि ब्रोकरको सञ्जाल विस्तार, ब्रोकर सञ्चालनको कानुनी व्यवस्था, ब्रोकरहरुको जोखिम व्यवस्थापनलगायतको पनि अध्ययन गर्ने भ्रमणको उद्देश्य रहेको मैनालीले सुनाए। ‘भ्रमण क्रममा भारतमा सञ्चालित ब्रोकरहरुले पोर्टफोलियो म्यानेजमेन्ट, एडभाइजरी, मार्जिन लेन्डिङलगायतका के–के सुविधा दिँदैछन् र ती सुविधा हामीले नेपाली लगानीकर्तालाई कसरी दिन सक्छौँ भनेर हामी अध्ययन गर्ने छौँ’, उनले भने।

मैनालीले भारत भ्रमणका क्रममा ब्रोकरहरु भारतको पुँजीबजारको नियामक निकाय सेबी र बीएसईमा जाने तय भएको बताए।

नेपाली सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षसहितको टोली र नेप्सेको सीईओसहितको टोलीले पनि केही साताअघि भारतको पुँजीबजारको अध्ययन भ्रमण गरेको थियो।