काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटबीच कार्डमार्फत हुने डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ। 

माछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिंक गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन्। ग्राहकले उक्त बालेटमार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिंक गरी मोबाइल टपअप, इन्टरनेटको, बिजुली, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट खरिद रकम भुक्तानीलगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन्। 

यसैगरी बैंकका ग्राहकले मोकोमार्फत स्क्यान टु पेका माध्यमबाट १ हजार ५०० भन्दा बढी विभिन्न मर्चेन्टहरुमार्फत कारोबार गरी रकम भुक्तानीसमेत गर्न सक्नेछन्। 

त्यस्तैगरी माछापुच्छ्रे बैंकका मर्चेन्टहरुले एमभिसा, अलीपे र युनियनपेसँग सम्बद्ध अन्तर्राष्ट्रिय कारोबारको क्यूआरबाटै भुक्तानी लिन सक्नेछन्। 

देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले विभिन्न किसिमका नवीनतम सेवा तथा सुविधा  ल्याइरहेको छ। यसका साथै बैंकले बढ्दो साइबर अपराधलाई मध्यनजर गर्दै आफ्ना डिजिटल कारोबारलाई अझ सुरक्षित र भरपर्दो बनाउँदै आइरहेको छ।