– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेप्से २००० बाट तल झरेपछि बजारमा अनेक अनुमान हुन थालेका छन्। 

सामाजिक सञ्जालदेखि ब्रोकर हाउसमा भेटिने लगानीकर्ताले बजार घट्नुमा आश्चर्य व्यक्त गरेको पाइन्छ। कतिपय लगनीकर्ताले अहिले सिजनकै बेलामा बजार घट्नुमा ब्रोकरलाई दोष लगाउँछन्। कतिले भने स्वाभाविक नै भएको धारणा व्यक्त गर्छन्। 

हाल अर्थ मन्त्रालय पुगेको नेपाल धितोपत्र बोर्ड (सेबोन)को  नयाँ ब्रोकर लाइसेन्स वितरणसहित संशोधित विनियमावलीप्रति असन्तुष्ट रहेका ब्रोकरहरु नै बजार घटाउन लागिपरेको कतिपय लगानीकर्ताको आरोप छ। लगानीकर्ता कमलराज अधिकारी ब्रोकरहरुकै षड्यन्त्रमा बजार २ बजेपछि घट्ने गरेको बताउँछन्। ‘अहिले ब्रोकरले सहयोग नगर्दा पनि बजार घटेको हो’, उनले भने, ‘धेरै लगानीकर्ताको कोल्याट्रल जिरो बनाइदिएका छन्। यसले बजार घट्नुमा दबाब बढेको छ।’ 

स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली भने लगानीकर्ताको आरोप अस्वीकार गर्छन्। ‘हाम्रो नै बजारमा ठूलो पैसा फसेको छ। ब्रोकरले नै बजार घटाए कसरी फाइदा हुन्छ ?’, उनले भने। 

मैनाली बजार घटेर कसैलाई पनि फाइदा नहुने बताउँछन्। ‘हामी बजार विकास र विस्तारमा कहिल्यै पनि बाधक बनाएका छैनौँ’, उनले भने।