– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सेयर बजारमा सक्रिय लगानीकर्ताहरु पछिल्लोपटक एकाएक आउँदो मंसिर ४ गते एकै चरणमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा उठ्ने घोषणा गरिरहेका छन्। देश बनाउने अठोटका साथ उनीहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका हुन्।
पुँजीबजार जानकार र केही लगानीकर्ताहरुका संघसंगठनका नेताहरुले आसन्न चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। उनीहरुले पटक–पटक मौका पाएर असफल भएका नेतहरुको आफूहरु वैकल्पिक शक्ति भएको दाबी गरेका छन्।
पछिल्लोपटक पुँजीबजारकै सहयोगमा बालेन साह स्थानीय तहको निर्वाचनमार्फत काठमाण्डौमा उदाए। उनी काठमाण्डौ महानगरको मेयर पदमा अप्रत्यासित जनमतका साथ विजयी भए।
बालेनको आक्रामक कार्यशैलीपछि सेयर लगानीकर्ताहरु पनि थप हौसिएका हुन्। उनीहरुले राजधानीभित्रै र बाहिरका विभिन्न ठाउँबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। खासगरी यी स्वतन्त्र उम्मेदवारले लौरो चिह्नबाट चुनाव लड्ने घोषणा गरेका छन्।
पेसाले इन्जिनियर रोहन कार्की पछिल्लो समय पुँजीबजारमा स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष भूमिकामा छन्। उनी प्रस्ट वक्ताका रुपमा परिचित छन्।
कार्की काठमान्डौ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने घोषणा गरेका छन्। ‘देशको अहिलेको अवश्यकता स्वतन्त्र उम्मेदवारले मात्रै पूरा गर्न सक्छ’, कार्की भन्छन्।
भारतका केजरिवालको उदाहरण दिँदै कार्कीले केजरिवाल पनि पेसाले इन्जिनियर रहेको बताए। ‘अहिलेका स्वतन्त्र उम्मेदवार भनेको परिवर्तनकारी शक्ति भएका हुन्, अहिलेका सबै नयाँ शक्ति भनेको जुध्नका लागिभन्दा पनि मिल्नका लागि हो’, उनले भने।
अहिलेका स्वतन्त्र उम्मेवादर माटोले मागेको र जनताको खोजेको नेता भएको पनि कार्कीले बताए।
पुँजीबजार विश्लेषक एवं लगानीकर्ताका नेताका रुपमा परिचित हरि ढकालले पनि प्रतिनिधिसभा चुनावमा चितवन क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। ‘चितवन मेरो पुर्ख्यौली थलो हो’, उनले भने, ‘दलहरुबाट असन्तुष्ट रहेका जनताको इच्छा र चाहनाअनुरुप चितवनबाट चुनाव लड्ने घोषणा गरेका हुँ।’
ढकाल पटक–पटक पुँजीबजार सुधारका लागि अनसन तथा आन्दोलनमा होमिएका लगानीकर्ता हुन्। उनी पनि लौरो चिह्नमा चुनाव लड्दैछन्।
नयन बास्तोला पनि सेयर बजारमा परिचित व्यक्ति हुन्। लामो समय पुँजीबजारमा सक्रिय बास्तोला भक्तपुर क्षेत्र नं. १ बाट आगामी प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनी पनि स्वतन्त्र रुपमा लौरो चिह्नमा चुनाव लड्दैछन्।
आफू भक्तपुरको स्थायी बासिन्दा भएकोले भक्तपुरबाटै चुनाव लड्न लागेको बास्तोला बताउँछन्। ‘भक्तपुरको रहन–सहन, भाषा, कला र संस्कृत बुझेको छु’, उनले भने।
चुनाव जितेमा भक्तपुरलाई आन्तरिक तथा विदेशी पर्यटकको केन्द्र बनाउने, होमस्टे र नेवारी संस्कृतको विकास गर्ने, भक्तपुरलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउने, जग्गाको खण्डीकरण रोक्ने, आधुनिक कृषि प्रविधि भित्र्याउने र भक्तपुरलाई व्यावसायिक तथा सीपमूलक शिक्षाको हबको रुपमा विकास गर्ने बास्तोलाले बताए। भक्तपुरमा हाल विद्यमान पिउने पानीको समस्या समाधानमा पनि आफूले पहल गर्ने बास्तोलाको भनाइ छ। हाल विद्यमान पुँजीबजारको समस्या समाधान गर्न, पुँजीबजारको विकास तथा विस्तार र लगानीकर्ताका हित संरक्षणका लागि लागिपर्ने पनि बास्तोलाले बताए।
पुँजीबजारमा अर्का परिचत व्यक्ति हुन्, विनोद बजगाईं। उनले पनि काठमाण्डौ क्षेत्र नं. १ (क)बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
बजगाईं पनि लामो समयदेखि पुँजीबजारमा विभिन्न आन्दोलन तथा अनसनमा सक्रिय भएर लागेका लगानीकर्ता हुन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago