काठमाण्डौ । बैंकहरुबीच लामो समयदेखि ब्याजदर निर्धारणमा हुँदै आएको भद्र सहमति भंग भएसँगै सेयर बजारमा बिहीबार भारी अंकको गिरावट आएको छ। 

विगत ६ महिनादेखि ब्याजदर स्थिर राख्दै आएका वाणिज्य बैंकहरुबीचको भद्र सहमति भंग भएको छ। अब बैंकहरुलाई राष्ट्र बैंकको नियमभित्र रहेर आफूखुसी ब्याजदर बढाउन वा घटाउन सक्ने छुट नेपाल बैंकर्स एसोसिएसन (एनबीएल)ले दिएको हो। 

सेयर बजारमा आज ५७ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक १९२४.४८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ११.२३ अंकले घटेर ३७४.१३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने हिजोको तुलनामा बढेर २ अर्ब बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल आज ब्याजदरको विषयले नै बजार घटेको बताउँछन्। ‘ब्याजदर बढ्न आशंकामा लगानीकर्ता प्यानिक भए, यति धेरै प्यानिक हुनुपर्ने कारण छैन’, उनले भने, ‘हल्ला बढी हुँदा साना लगानीकर्ता डराएका देखिन्छ।’ लम्सालले बजार केही दिनमै सम्हालिने बताए। 

बजार जानकार केशव कोइराला (काका) पनि ब्याजदर बढ्ने हल्ला बजारमा सेलिङ प्रेसर आएको बताउँछन्। ‘ब्याजदर बढ्ने वा नबढ्ने अहिले निश्चित भइसकेको छैन’, उनले भने, ‘भोलि ब्याजदर बढेर आएमा बजार केही अंकले खस्ला तर बजार धेरै अंकले खस्दैन।’

बजार अझै केही समय साइडवेजमा चल्ने कोइरालाको भनाइ छ। ‘बजार तुरुन्तै बाउन्स ब्याक हुने सम्भावना छैन’, उनले भने, ‘आसन्न चुनावसम्म बजार सामान्य तलमाथि नै हुने सम्भावना छ।’ 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन वित्त समूह सर्वाधिक ५.२४ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ४.६५ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.८२ प्रतिशत, व्यापार समूहमा ३.९७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.४२ प्रतिशत, जलविद्युत समूहमा ४.४६ प्रतिशत, निर्जीवन बीमा समूहमा २.४६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.१६ प्रतिशत, अन्य समूहमा ३.९४ प्रतिशत, लघुवित्त समूहमा ३.१२ प्रतिशत, जीवन बीमा समूहमा १.९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.९५ प्रतिशत र लगानी समूहमा ३.२९ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३२ कम्पनीका ६९ लाख ४० हजार ५९६ कित्ता सेयर २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन लक्ष्मी विकास बैंकको सर्वाधिक २१ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको ११ करोड ६४ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको ७ करोड ३५ लाख रुपैयाँ, नेपाल टेलिकमको ६ करोड ६८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ७७ लाख रुपैयाँ, अरुण काबेली पावरको ४ करोड ८४ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ६१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ४२ लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड ३८ लाख रुपैयाँ र गोर्खाज फाइनान्सको ४ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज मिर्मिरे लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।

यो दिन समृद्धि फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो फाइनान्सको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ।