काठमाण्डौ । आर्थिक वर्षको अन्तिम महिना सेयर बजारका लगानीकर्तामा स्वभाविक रुपमा धेरै प्रेसर(दवाब)हरु हुन्छन्, यही कारण यो अवधिमा बजार घट्छ । घट्दो बजारमा थप केही प्रेसरहरु देखिएपछि साताको पहिलो कारोबार दिन आइतबार बजारमा २२ अंकको पहिरो गएको छ ।
नेप्से परिसूचक घटेर १५४१.८२ अंकमा झरेको छ भने अधिकांश समूहको सूचकमा रातो पोतिएको छ ।
आइतबार बजारलाई थप घटाउने मुख्य कारणको रुपमा सेयर कारोबारको क्रममा ब्रोकरहरुले लिने कमिसनमा भ्याट लगाउने सरकारी तयारी रह्यो । सरकारले २ ब्रोकर कम्पनीलाई ४ वर्षदेखिको कमिसनमा भ्याट लगाउने भन्दै पत्र काटी बक्यौतासहितको रकम तिर्न भनेपछि अघिल्लो साताको अन्तिम कारोबार दिन ब्रोकरहरुले आन्दोलन गरी बजार ठप्प पारेका थिए । स्टक ब्रोकर एशोसिएसनसँगको छलफलपछि अर्थमन्त्रालयले केही समयपछि चाहि सेयर कारोबारमा समेत मूल्य अभिवृद्धि कर(भ्याट) लगाउने भनेको खबर सार्वजनिक भएपछि बजारमा बिक्रीको चाप देखिएको हो ।
स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालका अनुसार सरकारले निकट भविष्यमै सेयर कारोबारमा १३ प्रतिशतको दरले भ्याट लगाउने खबर बाहिरिएपछि ठूला लगानीकर्ताहरुले सेयर बिक्रीको हतारो देखाएका छन् । 'सेयर किन्दा र बिक्री गर्दा समेत छुट्टा छुट्टै १३ प्रतिशतको दरले कर तिर्नुपर्ने देखिएपछि लगानीकर्ता तर्सिएका छन् ।' उनले भने-'यो दरको भ्याटले साना लगानीकर्तालाई धेरै फरक नपरे पनि ठूला लगानीकर्तालाई निकै ठूलो फरक पर्छ, यही कारण समेत बजारमा बिक्रीको चाप बढी नेप्से थप घटेको छ ।'
बजार घटाउन भ्याट लाग्ने खबरले सहयोग गरे पनि त्यसभन्दा अगाडिदेखि नै बजार निरन्तर घटिरहेको थियो । भ्याटको प्रसंग बाहेक बजारमा अहिले के कस्ता प्रेसर छन्, जसका कारण बजार घटिरहेको हो त ? हाम्रो जिज्ञासामा पौड्यालले बर्षान्तको समयमा मार्जिन कलको प्रेसर, कतिपय ऋणहरुको सेटलमेन्टको प्रेसर, सेयरबजारलाई नेतृत्व गर्ने बैंक र बिमा समूहमा हराएको आकर्षण, अझै असहज अवस्थामै रहेको तरलताको अवस्था, सकारात्मक कुराहरुको अभाव जस्ता कारणले समेत बजार घट्दो क्रममा रहेको बताए । 'बर्षान्तमा बैकिंग क्षेत्रमा आकर्षण बाँकी छैन ।' उनले भने-'बिमा समितिले चुक्तापूँजी तोकिदिएपछि बिमा समूहमा समेत आकर्षण रहेन । बैंक र बिमा केन्द्रीत सेयर बजार यहीकारण घटिरहेको हो ।'
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago