काठमाण्डौ । इटहरी चेम्बर अफ कमर्सले वित्तीय संस्थाको बढ्दो ब्याजदर र कात्तिक १ बाट लागू भएको चालुपुँजी कर्जा मागदर्शनका कारण उद्योगीव्यवसायीहरु मर्कामा परेकोले आन्दोलनमा होमिन बाध्य हुने जनाएको छ।  

कार्यक्रममा पत्रकार सम्मेलन गर्दै इटहरी चेम्बरले उद्योगीव्यवसायीले लिएको ऋणको ब्याज बढ्दा उद्योग–व्यवसाय क्षेत्र थप धरासायी भएको जनाएको छ। ‘त्यही भएर राष्ट्र बैंकको नीतिगत व्यवस्थाविरुद्ध उद्योगी–व्यवसायी सडकमा आउने परिस्थिति सिर्जना भएको हो’, पत्रकार सम्मेलनमा इटहरी चेम्बरका संस्थापक अध्यक्ष ताराबहादुर कटुवालले भने। 

लामो समयको कोभिड महामारी र त्यसपश्चातको बाह्य तथा वित्तीय असन्तुलनका कारण निरन्तर प्रभावित रहँदै आएको औद्योगिक तथा व्यावसायिक क्षेत्र पछिल्लो मौद्रिक नीतिको संकुचनकारी व्यवस्थाले निम्त्याएको तरलता अभावसँगै भएको ब्याज वृद्धिका कारण पुँजीगत लागत बढेको कटुवालको भनाइ छ। 

हाल बजारमा देखा परेको तरलता अभाव, मूल्यवृद्धि तथा वित्तीय संकटले समग्र आर्थिक प्रणालीलाई नै संकुचित गर्ने दिशातर्फ उन्मुख रहेको इटहरी चेम्बरको भनाइ छ। ‘बढ्दो उत्पादन लागत, बजार मागमा आएको मन्दी, बजारबाट नगद प्राप्तिमा भएको कठिनाइका साथै बाह्य कारणबाट भएको मूल्य वृद्धिसमेतका कारण समस्यामा रहेको औद्योगिक एवम व्यावसायिक क्षेत्र बैंक तथा वित्तीय संस्थाले गरेको ब्याज वृद्धिका कारण बन्द गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ’, इटहरी चेम्बरद्वारा प्रस्तुत ‘वित्तीय तरलता अभाव तथा ब्याज वृद्धिका कारण व्यावसायिक एवं औद्योगीक क्षेत्रमा परेको असर र त्यसका समाधानका उपाय’ प्रतिवेदनमा उल्लेख छ। 

उत्पादित वस्तु तथा सेवामा भएको मूल्य वृद्धिले आमसर्वसाधारण उपभोक्ताको जनजीवन कष्टकर बन्दै गएको इटहरी चेम्बरको ठहर छ । ‘बैंकिङ क्षेत्रबाट विगतमा भएका सकारात्मक पहलको निजी क्षेत्रले सदैव स्वागत गरेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘हरेक महिना कर्जामा व्याजदर वृद्धि हँुदै जाने प्रथा कायम हुने हो भने मुलुकभित्र उद्योगव्यवसाय गर्न सम्भव छैन।’

यसरी ब्याजदरमा अस्थिरता कायम रहँदा मुलुकमा व्यावसायिक लागत प्रक्षेपण गर्न सक्ने अवस्थासमेत नहुने चेम्बरको बुझाइ छ । ‘८ प्रतिशतभन्दा माथि पुगेको मुद्रास्फीतिको दरलाई बैंक ब्याजदरमा भएको अस्वाभाविक बृद्धिले थप माथि लग्ने तथा अर्थतन्त्र थप संकुचित हुँदै जाने निश्चित छ’, प्रतिवेदनमा भनिएको छ, ‘यो अवधिमा सरकारको राजश्व कमी पनि आएको छ ।’ 

समग्र अर्थतन्त्रमा देखा परेको यो डरलाग्दो संकुचनबाट बाहिर निकाल्न तरलता व्यवस्थापनका लागि ब्याजदर बढाउँदासमेत निक्षेपमा कुनै तात्विक बढोत्तरी नभएको स्पष्ट भइसकेको चेम्बरको भनाइ छ । ‘तसर्थ, समग्र औद्योगिक एवं व्यावसायिक लागत घटाउने गरी बैंक ब्याजदर एकल अंकमा सीमित गर्ने उपायसहित उपयुक्त वित्तीय औजारका माध्यमबाट नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले कडा कदम चाल्न अपरिहार्य छ’, चेम्बरले भनेको छ। 

यस्ता छन् इटहरी चेम्बरले दिएको नीतिगत सुधार र समस्या समाधानका उपायहरु –