काठमाण्डौ । मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ। देशभर अहिले प्रत्यक्षसँगै समानुपातिक मत पनि गणना भइरहेको छ। 

पछिल्लो मतपरिणामअनुसार समानुपातिकतर्फ नेपाली कांग्रेसको अग्रता तोड्दै नेकपा एमाले अघि बढेको छ। एमालेले ८३ हजार १८९ मतका साथ अग्रता लिएको छ। कांग्रेस ७० हजार १९ मतसहित दोस्रो स्थनमा छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी चिह्न)ले समानुपातितर्फ उल्लेख मत पाइरहेको छ। तेस्रो स्थानमा रहेको यो पार्टीले ३५ हजार २८ मत पाइसकेको छ। 

माओवादी केन्द्र चौथो स्थानमा छ। माओवादी केन्द्रले ३२ हजार ९३ मत पाएको छ। 

माओवादी केन्द्रपछि राप्रपाले १९ हजार ७३६ मतसहित पाँचौं स्थानमा छ भने जसपा ५ हजार ९८९ मतसहित छैटौँ स्थानमा छ। सिके राउत नेतृत्वको जनमत पार्टी ५ हजार ६३९ मतसहित सातौँ स्थानमा छ।

नेमकिपा, नागरिक उन्मुक्ति पार्टी र नेकपा एस क्रमशः आठौँ, नवौँ र दसौँ स्थानमा छन्। यी पार्टीले क्रमशः ४ हजार ४३९ मत, ३ हजार ६९८ मत र ३ हजार ५९४ मत पाएका छन्। 

मतगणना परिणामले नेकपा एसलाई थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बन्ने चुनौती देखिएको छ।