काठमाण्डौ । सत्ता गठबन्धनको बैठक भर्खरैमात्र सुरु भएको छ। सो बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणमा बनाउन लागेको सानो मन्त्रिमण्डलमा सहभागी हुने नामहरुका विषयमा निष्कर्ष निकाल्नेछ।
सत्ता गठबन्धनका ठूला दल नेकपा एमाले र माओवादी केन्द्रबाट पहिलो चरणमा क–कसलाई मन्त्री बनाउने भन्ने टुंगो लागिसकेको छ। तर, मन्त्रालयको विषयमा भने दिउँसो १ बजेसम्म पनि सहमति हुन सकेको छैन।
मन्त्रालयको विषयमा सहमति हुन नसकेका कारण हो, भावी अर्थमन्त्रीको रुपमा हेरिएका एमाले नेताको विष्णु पौडेलले अर्कै मन्त्रालयमा निरन्तर लिएको अडान।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट उच्च स्रोतका अनुसार विष्णु पौडेलले आफू यसअघि पनि २ पटकसम्म अर्थमन्त्री भइसकेकोले तेस्रोपटक पुनः जान नचाहेको बताएका छन्। उनले ओलीसँग विशेष अनुरोध गर्दै आफू उपप्रधानसहित गृहमन्त्री बन्न चाहेको बताएका स्रोत दाबी गर्छ। ‘म दुईपटकसम्म अर्थमन्त्री भइसकेँ। एउटै मन्त्रालयको बागडोर कति सम्हाल्नु ? गृहमन्त्रीका रुपमा यसपटक काम गर्ने वातावरण बनाइदिनुहोला’, पौडेललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘पौडेलको यो प्रस्तावमा अध्यक्ष ओलीले प्रतिक्रिया दिनुभएको छैन। सायद उहाँको चाहना पौडेल अर्थमन्त्रीकै रुपमा तेस्रोपटक सरकारमा जाउन् भन्ने हो कि जस्तो देखिन्छ।’
आज सानो आकारको मन्त्रिपरिषद् गठन हुँदा विष्णु पौडेल अर्थ वा गृह लिएर उपप्रधानमन्त्रीका रुपमा सरकारमा सहभागी हुनेछन्।
विष्णु पौडेलले अर्थ मन्त्रालयमा तेस्रोपटक जान्नँ भन्ने अडानको जित भयो भने अर्थमन्त्रीका रुपमा माओवादी नेता वर्षमान पुन सरकारमा सहभागी हुनेछन्।
यदि पौडेल अर्थमन्त्रीकै रुपमा सरकारमा सहभागी भए भने गृहमन्त्रीमा वर्षमान पुन जानेछन्।
प्रचण्डको यस्तो छ इच्छा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको इच्छा भने दुईपटक अर्थमन्त्रालयको बागडोर सम्हालिरहेका विष्णु पौडेललाई पुनः अर्थमन्त्रीकै रुपमा लैजाने रहेको छ। उनले एमालेका केही नेताहरुमार्फत अर्थमन्त्रीका रुपमा पौडेल नै आउनुपर्ने सन्देश पठाइसकेका छन्।
अर्थमन्त्रीका रुपमा काम गर्दा लगानीकर्ताको मनोबल उच्च बनाएको, अर्थतन्त्रका मुख्य सूचकहरुमा आमूल सुधार गरेकोलगायतका कारणले पनि अर्थमन्त्रीका रुपमा पुनः पौडेल नै आउनुपर्ने विचार प्रचण्डले एमालेका दोस्रो तहका नेताहरुसँग राख्ने गरेका स्रोत बताउँछ।
यता अर्थमन्त्रीका रुपमा विष्णु पौडेल नै आउन लागेको खबर भाइरल बनेपछि त्यसको प्रभावले सेयर बजारमा हरियाली छाएको छ। यो समाचार तयार पार्दासम्म नेप्से परिसूचकमा ४५ अंकको उछाल आइसकेको छ।
विष्णु पौडेल नै अर्थमन्त्री भएको अवस्थामा नेप्से परिसूचकले अलटाइम हाईको विन्दु चुमेका कारणसमेत उनी पुनः सोही पदमा आउने भएपछि लगानीकर्ताको मनोबलमा नाटकीय परिवर्तन देखिएको छ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि पहिलो चरणमै सरकारमा सहभागी हुँदैछन्। उनले उपप्रधानसहित गृह मन्त्रालय मागेका छन्। तर, माओवादी र एमाले सो मन्त्रालय रविलाई दिने पक्षमा छैनन्। त्यसो हुँदा लामिछानेले नै माग गरेको अर्को मन्त्रालय भौतिक पूर्वाधारसहित उपप्रधानमन्त्री बन्ने सम्भावना रहेको छ। रास्वपाले स्वास्थ्य मन्त्रालय पनि पाउने स्रोतको दाबी छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19