काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले बढ्दो ब्याजदरविरुद्ध विराटनगरमा आन्दोलनरत उद्योगी–व्यवसायीलाई वार्ताका लागि डाकेका छन्। 

कार्यभार सम्हालेलगत्तै पौडेलले मंगलबार मोरङका उद्योगी–व्यवसायीलाई वार्ताका लागि बोलाएका हुन्। अर्थमन्त्रीले वार्तामा बोलाएसँगै मोरङका तीन मुख्य व्यावसायिक संस्थाले आन्दोलन स्थगित गरेका छन्। 

चर्को ब्याजदर र राष्ट्र बैंकले ल्याएको चालुपुँजी कर्जा मार्गनिर्देशन स्थगितको माग गर्दै गत बिहीबारदेखि मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र सीएनआईको प्रदेश नम्बर १ समितिले आन्दोलन थालेका थिए। 

आन्दोलनमा उत्रिएका उद्योगी–व्यवसायीले सोमबार विराटनगरस्थित नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिँदै कर्मचारीलाई कार्यालय प्रवेश गर्न दिएका थिएनन्। जसका कारण दिनभर काम प्रभावित भएको थियो।

नयाँ सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले पनि ‘वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पुँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने’ निर्णय गरेको थियो।

त्यसो त नेपाल उद्योग वाणिज्य महासंघको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समस्या अवगत गराइसकेको छ।