काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत उद्योगी–व्यवसायी भोगिरहेका समस्या समाधान गर्न पहल गर्ने बताएका छन्। 

अर्थ मन्त्रालयका आज आन्दोलनरत उद्योगी–व्यवसायीसँगको छलफलमा अर्थमन्त्री पौडेलले समस्या समाधानका लागि पहल गर्ने बताएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाको नेतृत्वमा विराटनगर, भैरहवा, वीरगन्ज र नेपालगन्जसहितका २० जना उद्योगी–व्यवसायी छलफल सहभागी थिए। 

‘छलफलपछि अर्थमन्त्रीबाट एकदमै सकारात्मक कुरा आएको छ, निजी क्षेत्रका समस्या समाधान हुनेमा हामी विश्वस्त छौँ’, रणाले भनिन्, ‘त्यसकारण अब उद्योगी–व्यवसायीको आन्दोलन स्थगित गर्ने निर्णय गरेका छौँ।’ 

सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध देशभर आन्दोलनमा उत्रिएका उद्योगी–व्यवसायीहरुले अन्ततः आन्दोलन स्थगित गरेका छन्।