– अर्जुन तिमिल्सिना

काठमाण्डौ । पछिल्लो समय सेयर बजारको विकास र विस्तारका लाथि थुप्रै काम भएका छन्। 

अहिले देश तथा विदेशबाट लगानी गर्नेको आइरो नै चलेको छ। टीएमएस आएपछि धेरै लगानीकर्ताले आफ्नै हातबाट सहजै सेयर कारोबार गर्दै गएका छन्। त्यसले लगानीकर्ता झनै संवेदनशील हुनुपर्ने ब्रोकरहरु बताउँछन्।  

योसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ब्रोकर कम्पनीहरुको पनि कार्य क्षेत्र विस्तार गर्दै जाने तयारीमा रहेको बुझिन्छ। बजार विकास र विस्तार भएसँगै अब ब्रोकरहरुले पनि आफ्नो सेवा तथा कामको प्रचारप्रसार गर्न पाउने अनुमति नेप्सेले दिएको छ। तर, त्यस्तो प्रचारप्रसार सचेतनामूलक हुनुपर्नेछ। 

अहिले सेयर बजारमा धेरै लगानीकर्ताको सहभागिता भएसँगै अब ब्रोकरहरुले आफ्नो सेवा तथा ठेगाना राखेर सचेतनामूलक तथा सन्देशमूलक विज्ञापन गर्न सक्नेछन्। ‘त्यस्ता प्रचारप्रसार कसैलाई सेयर किन्न उक्साउने तथा अन्य ब्रोकरलाई प्रभाव पार्ने खालको भने हुनुहुँदैन’, एक ब्रोकरले भने, ‘ब्रोकरहरुले जुनसुकै सञ्चार माध्यमलाई प्रायोजित विज्ञापन दिन सक्नेछन्।’

ब्रोकरहरुले विज्ञापन गर्दा लगानी गर्दा हुने जोखिम तथा फाइदाको विषयमा सञ्चार माध्यमबाट प्रसारण र प्रकाशन गर्न पाउने ती ब्रोकरले बताए। 

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले पनि अब ब्रोकरहरुले सचेतनामूलक प्रचारप्रसार गर्न पाउने पुष्टि गरेका छन्। ‘नेप्सेलाई जानकारी गराएर सचेतनामूलक विज्ञापन प्रसारण र प्रकाशन गर्न पाउनेछन्’, उनले भने।