काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्ने बताएका छन्। 

राजश्व संकलनलगायत अर्थतन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमको अवस्थामा रहेको भन्दै अध्यक्ष मल्लले अर्थतन्त्र उकास्ने जिम्मेवारी निजी क्षेत्रको पनि भएको बताए। तिलोत्तमा चेम्बर अफ कमर्सको नवौँ साधारणसभाको उद्घाटन गर्दै मल्लले भने, ‘उत्पादन वृद्धि गरेर निर्यात प्रवर्द्धन, औद्योगिक लगानीमार्फत रोजगारी सिर्जना गर्नका लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्न जरुरी छ।’

पछिल्लो समय राजश्व संकलन लक्ष्यअनुसार हुन नसकेको मल्लले बताए। लक्ष्यअनुसार राजश्व संकलन नहुँदा चालु खर्च धान्न पनि सरकारलाई मुस्किल परिरहेको मल्लको भनाइ थियो। 

अध्यक्ष मल्लले भन्सार राजश्व प्रभावकारी नहुँदा पनि राजश्व लक्ष्यअनुसार उठ्न नसकेको बताए। भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिए। 

नेपाल–भारत खुला सीमाको फाइदा उठाएर अवैध कारोबार भइरहेको उल्लेख अध्यक्ष मल्लले सीमा व्यवस्थापन हुनेबित्तिकै कम्तीमा ४० प्रतिशत राजश्व वृद्धि हुने बताए। 

आयातलाई व्यवस्थित गरेर निर्यात प्रवर्द्धन गर्नका लागि सरकारसँग हातेमालो गर्न चेम्बर अफ कमर्स तयार रहेकोसमेत मल्लले बताए। सरकारले करको दायरा फराकिलो पारेर राजश्व प्रणालीलाई चुस्त बनाउनुपर्नेमा उनले जोड दिए। 

मल्लले कर राजश्व प्रशासनलाई प्रभावकारी बनाउन केन्द्रदेखि स्थानीय तहसम्मै सहकार्य गर्न जरुरी रहेको औँल्याए। ‘अनुशासित व्यवसाय र पारदर्शी कर प्रणाली सम्बन्धमा निजी क्षेत्र सदैव प्रतिबद्ध छ’, उनले भने, ‘आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि सरकारसँग हातेमालो गर्न हामी तयार छौँ।’ 

खुद्रा पसलदेखि होलसेलसम्मै बिल बिजकको व्यवस्थालाई अनिवार्य रुपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा पनि मल्लले जोड दिए।