पोखरा । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामूहिक पहल आवश्यक रहेको बताएका छन्। 

पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले सामूहिक लगानीमार्फत उद्यमशीलता वृद्धि र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए। ‘आर्थिक विकास र समृद्धिका लागि बेरोजगारी समस्या प्रमुख चुनौतीका रुपमा खडा भएको छ’, उनले भने, ‘प्रत्येक वर्ष ५ लाख युवा श्रम बजारमा प्रवेश गर्छन् तर रोजगारीको अवसर नपाउँदा विदेशिन बाध्य भइरहेका छन्।’ 

उद्योग तथा साना व्यवसायमा सामूहिक लगानीमार्फत नयाँ–नयाँ रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्र र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको अध्यक्ष मल्लले बताए। 

कृषि, पर्यटन, एवं साना उद्योगमा रोजगारी सिर्जना गर्ने सकिने मल्लको भनाइ छ । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त समयमा रोजगारी सिर्जना गराउने गरी योजना बनाउन उनले सरकारको ध्यानाकर्षण गराए। 

विद्यार्थीले विश्वविद्यालयमा पठनपाठनसँगै कृषि, सूचना प्रविधि एवं औद्योगिक क्षेत्रमा अतिरिक्त समयमा काम गर्न सक्ने वातावरण बनाइदिने हो भने यसले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अध्यक्ष मल्लले बताए। सामूहिक लगानीमार्फत आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ।