काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाका विशेष सल्लाहकार तथा रणनीतिकार उद्योगी पशुपति मुरारकालाई दिइएको विभूषण रद्ध गर्ने प्रक्रिया सुरु भएको छ । 

एफएनसीसीआईमा अध्यक्ष शेखर गोल्छालाई वरिष्ठ उपाध्यक्ष बनाउने विशेष भूमिका उद्योगी पशुपति मुरारकाले निर्वाह गरेका थिए । मुरारका विवादित उद्योगपति हुन् । 

एफएनसीसीआईका पूर्व अध्यक्ष समेत रहेका मुरारका विरुद्ध खानी दोहनको अभियोगमा बिगो, कैद र जरिवाना असुलको मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्धा विचाराधीन अवस्थामा छ । उनी खानी उद्योग सिद्धार्थ मिनिरल्सका सञ्चालक हुन् ।

उनले लामो समयदेखि खानी दोहन गरी अर्घाखाँची सिमेन्ट समेत सञ्चालन गर्दै आएका छन् । एफएनसीसीआईको प्रभावको दुरुपयोग गरी उनले व्यक्तिगत स्वार्थका लागि खानी दोहन, कर छली लगायतका कैयन काम खुलेआम गर्दै आए पनि उनीविरुद्ध खानी दोहनको मुद्धा मात्र अगाडि बढाइएको छ । 

मुरारकाविरुद्ध अख्तियारले २०७८ माघ १२ मा विशेष अदालतमा ४९ करोड ४५ लाख ५१ हजार ६ सय ४५ रुपैयाँ बिगो र २ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको थियो । मुद्दाको किनारा नलाग्दै एफएनसीसीआईको दवाब र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मुरारकालाई ‘सुकीर्तिमय राष्ट्रदीप’ विभूषण दिइने घोषणा गरिएको थियो ।

सोही विभूषण रद्ध गर्ने प्रक्रिया गृहमन्त्रालयले अगाडि बढाएको हो । 

भष्ट्राचारको आरोपमा विवादित रहेका उद्योगी मुरारका लगायतका व्यक्तिहरुलाई विभूषण दिने निर्णय भएकोमा चौतर्फी आलोचना भएको थियो । मुरारकालाई विभूषण दिने निर्णय शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको थियो । 

गृहमन्त्रालयस्थित स्रोतका अनुसार मन्त्रिपरिषद्को निर्णय अनुसार विभूषण रद्द भएकाहरूको नाम राष्ट्रपति कार्यालय पठाउन लागिएको छ । त्यसपछि औपचारिक रुपमै मुरारकालाई दिन लागिएको विभूषण रद्ध हुनेछ । 

मन्त्रीपरिषदले विभूषण रद्धको प्रक्रिया अगाडि बढाइसक्दा एफएनसीसीआईले भने उनलाई प्रतिष्ठित सदस्यको उपाधिमै कायम राखेको छ । अध्यक्ष शेखर गोल्छाका गुरु तथा रणनीतिकार भएकै कारण भ्रष्टाचार मुद्धा लागेर विभूषण समेत खोसिने अवस्था बनिसक्दा समेत एफएनसीसीआईले उनलाई दिएको प्रतिष्ठित(विशिष्ट) सदस्यको उपाधि खोसेको छैन । उद्योगीहरुले मुरारकाको मुद्धा किनारा नलागुञ्जेल उनलाई विशिष्ट सदस्यबाट हटाउनुपर्ने माग गरे पनि गोल्छाले कुरा नसुनेका गुनासोहरु आउने गरेका छन् । 

यसैबीच, मुरारकासहित गृहमन्त्रालयले व्यापारी चिराग गोयल, शिक्षकहरु हरिप्रसाद कँडेल, यामबहादुर श्रेष्ठ र कर्मचारी शेरबहादुर श्रेष्ठलाई दिन लागेको विभूषण समेत रद्दको प्रक्रिया अगाडि बढाएको बुझिएको छ ।